विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछ : प्रधानमन्त्री प्रचण्ड

२८ जेठ ०८०, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

आइतबार दिउँसो धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको २८ औं दीक्षान्त (दोस्रो चरण) समारोहमा बोल्दै प्रधानमन्त्रीले विश्वविद्यालयहरूमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने र स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने बताएका हुन् ।

‘‘हाल सञ्चालनमा रहेका सबै विश्वविद्यालय र उच्च शैक्षिक संस्थाहरूले पठनपाठन र अनुसन्धानको शैली परिवर्तन गर्न आवश्यक छ”, दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “खासगरी विश्वविद्यालयहरूमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने हुन्छ ।”

स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने बताउँदै प्रधानमन्त्रीले अध्ययन–अध्यापन, खोज–अनुसन्धान एवम् प्रकाशन–प्रचारले मुलुकको आर्थिक विकास, सामाजिक पुँजी निर्माण र आमनागरिकको जीवनस्तर उकास्न प्रत्यक्ष योगदान पुग्ने पनि बताए ।