विश्व स्तनपान सप्ताह : स्तनपानलाई प्राथमिकता दिऔं, दिगो सहयोग प्रणाली निर्माण गरौं

काठमाडौं । विश्व स्तनपान सप्ताह सुरू भएको छ । हरेक वर्ष अगस्ट १ देखि ७ सम्म यो सप्ताह मनाइन्छ ।

आमाहरुलाई स्तनपानको महत्व बुझाउने, नवजात शिशुको पोषण र स्वास्थ्यमा स्तनपानको योगदानप्रति जनचेतना फैलाउने उद्देश्यले यो सप्ताह मनाइन थालिएको हो ।

यो वर्षको विश्व स्तनपान सप्ताहको नारा ‘स्तनपानलाई प्राथमिकता दिऔं, दिगो सहयोग प्रणाली निर्माण गरौं’ भन्ने रहेको छ । विश्व स्वास्थ्य संगठनले हरेक वर्ष अगस्ट १ देखि ७ सम्म स्तनपान सप्ताह मनाउन आव्हान गर्दछ ।

नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशक डा.सबिहा यासमिनले शिशु जन्मने बित्तिकै उसलाई पोषण चाहिने र त्यो पोषण आमाको दुधबाट मात्र प्राप्त हुने साथै आमाको दुधमा शिशुको लागि अपरिहार्य रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति रहने, स्तनपानकै कारण आमा र बच्चाबिच गहिरो माया बढ्ने, स्तनपानले स्तन क्यान्सर र पाठेघरको क्यान्सरको जोखिम पनि घटाउने भएकाले प्रत्येक घरपरिवारलाई स्तनपानको महत्वबारे जानकारी हुन आवश्यक रहेको बताउँछन् ।

नवजात शिशुको प्रारम्भिक पोषण, विकास र रोग प्रतिरोधात्मक क्षमताको लागि स्तनपान अत्यन्त महत्वपूर्ण रहेको भन्दै उनले आमालाई स्तनपान गराउन प्रेरित गर्ने साथै सहज बनाउने कुरालाई समाज र राज्यले प्राथमिकतामा राख्नुपर्ने बताए ।