व्यवसायीहरुको सिन्डीकेट बिरुद्ध विद्यार्थी संगठनद्वारा प्रदर्शन, पुस्तक पसलमा तालाबन्दी

१२ बैशाख ०७६, सप्तरी । केही पुस्तक व्यवसायीहरु मिलेर सिन्डीकेट लगाएर राजविराजस्थित गजेन्द्र चौकमा ‘पुस्तक महल’ नामक पसल मार्फत निजि विद्यालयका पुस्तक एकलौटी ढंगले बिक्री गरिरहेको बिरोधमा विभिन्न विद्यार्थी संगठनकहरुको अगुवाइमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

बिहीबार सिन्डिकेट खारेजीको माग गर्दै विभिन्न विद्यार्थी संगठनकहरुको अगुवाइमा विद्यार्थीहरुले नगरमा प्रदर्शन गर्नुका साथै सिन्डीकेट लागू गरी पाठ्यपुस्तक बिक्रि भइरहेको गजेन्द्र चौकस्थित पुस्तक ‘महल नामक’ पुस्तक पसलमा तालाबन्दी गरेका हुन् ।

प्रदर्शन गर्दै विद्यार्थी ।

स्थानिय शिव मन्दिरको प्राङ्गणबाट नेकपा, काँग्रेस, फोरम, राजपालगायतका पार्टी निकटका विद्यार्थी संगठनहरुको अगुवाईमा निस्केको जुलुस पुस्तकमा लगाइएको सिन्डीकेट खारेजीको माग गर्दै बजार क्षेत्र परिक्रमा गरी सो पसलमा पुगेर तालाबन्दी गरेका हुन् ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले निजि विद्यालयका पाठ्यपुस्तकहरु एकलौटी गरी पुस्तक महलबाटै विक्री गर्न थालेपछि आक्रोसित बनेका विद्यार्थीहरुले यसअघि पनि सिन्डीकेट खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा दुई दिने अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएका थिए । तर, स्थानिय प्रशासनबाट सो अवधिमा कुनै कारवाही अघि नबढाएपछि बाध्य भएर तालाबन्दी र बिरोध प्रदर्शनमा उत्रिनु परेको अनेरास्ववियुका जिल्ला अध्यक्ष दिलिप रजकले बताए ।

नगरभरीका करिब ५० हजार भन्दा बढी विद्यार्थी र अभिभावकलाई त्यही पसलबाट मात्र पाठ्यपुस्तक खरिद गर्नु पर्ने केही पुस्तक व्यवसायीहरुले बाध्य बनाएपछि आन्दोलनको बाटो रोज्नु परेको ने.वि संघका सदस्य दिपक यादवले बताए ।

राजविराज नगरपालिका क्षेत्रमा मात्रै ४१ वटा पुस्तक पसलहरु रहेका छन् । तर, सिन्डीकेट लागु गरिएपछि ती पुस्तक पसलहरुमा निजि विद्यालयका पुस्तक पाइदैन् । जसकारण विद्यार्थी र अभिभावक दुबै मारमा परेका छन् ।

अर्कोतर्फ अस्थायी रुपमा सञ्चालनमा ल्याइएको पुस्तक महल नामक उक्त पसलबाट पुस्तक खरीद गर्दा एक रुपैयाँ पनि छुट नदिने संघको कठोर निर्णयले विद्यार्थी र अभिभावकलाई झन आक्रोसित बनाएको छ ।

विभिन्न पुस्तक प्रकाशन गृहले व्यवसायीलाई ४० देखि ५० प्रतिशतसम्म कमिशन दिएपनि महासंघले एकलौटी गरेर विद्यार्थीहरुलाई एक रुपैयाँसम्म छुट नदिएर ब्रह्मलुट मच्चाइरहेको स्थानीय अभिभावक वासुदेव यादवको भनाई छ ।

यसअघि बुधबार साँझ पनि अक्रोसित अभिभावकहरुले सिन्डीकेट बिरुद्ध सोही पसल अगाडी होहल्ला गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । जसकारण बुधबार साँझ पुस्तक पसल नै बन्द गर्नुपरेको थियो ।

एकलौटी ढंगले पुस्तक बिक्रि गर्नुका साथै छुट समेत नदिएर तथा प्रचण्ड गर्मीमा दिनभरी लामो लाइनमा बसेर पनि सेटमा पुस्तक उपलब्ध हुन नसक्दा आफूहरु हैरान बनेको स्थानिय अभिभावक र विद्यार्थीको गुनासो छ ।

तपाइको मत