
१८ असार ०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको अवस्था बदल्न शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले सोमबार दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको १ सय जन्मजयन्तीको अवसरमा जिपी कोइराला मेमोरियल कलेजद्वारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
विश्वका विकसित राष्ट्रका नेताहरुले आफ्नो देशको प्राथमिकतामा शिक्षालाई राख्ने गरेको तर नेपालमा त्यस्तो हुन नसकेको बताउँदै उनले भने ‘हामीले शिक्षालाई जुन प्रकारको महत्व दिनुपर्ने हो त्यो नभएको भन्ने कुरामा म सहमत छु ।’
यस्तै प्रधानमन्त्रीले दिवंगत नेता कोइरालालाई परिपक्व, राजनीति सुझबुझ र दुरदृष्टि भएका नेताका रुपमा आफूले पाएको बताए ।
उनले कोइरालाको राजनीतिक सुझबुझ र दुरदृष्टिकै कारण आजको परिवर्तन सम्भव भएको पनि बताए ।
दिवंगत कोइरालाले शान्ति, संविधान र समग्र प्रक्रियाको रक्षा गर्ने कुरामा महत्वपूर्ण भूमिका खेलेको बताउँदै प्रधानमन्त्रीले भने, ‘यसको प्रेरणाको स्रोत गिरिप्रसाद कोइराला हो । हामीले व्यवस्था बदल्न साहस गर्यौं तर जनताको अवस्था बदल्न सकेनौं, त्यसमा आत्मसमीक्षा गर्न जरुरी छ ।’













