शिक्षामा आमूल परिवर्तनका लागि बजेट बृद्धि गर्नुपर्नेमा प्रचण्डको जोड

७ माघ ०८१, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा आमूल परिवर्तनका लागि बजेट बृद्धि गर्नुपर्ने बताएका छन् ।

गोरखा नगरपालिका– ८ आहालेमा रहेको सरस्वती माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रचण्डले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको बीस प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने बताएका हुन् ।

उनले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको शिक्षा नीति थप प्रष्ट पारेको पनि बताए ।

आफू प्रधानमन्त्री हुँदा निकै मेहनत गरेर शिक्षा बिधेयक ल्याएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई चाँडोभन्दा चाँडो पारित गर्न जोडबल लगाउने प्रतिबद्धता व्यक्त गरे ।