शुद्धोधन गाउँपालिकाका स्थानीयसँग अन्तरक्रिया गर्दै प्रचण्ड

५ बैशाख ०८२, कपिलवस्तु । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज कपिलवस्तुको शुद्धोधन गाउँपालिका–४ का स्थानीयबासीसँग अन्तरक्रिया गर्दै विद्यालयको अवस्थाबारे जानकारी लिएका छन् ।

अध्यक्ष प्रचण्ड श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय (प्रस्तावित कन्या कलेज) पुगेर विद्यार्थी, अभिभावक साथै स्थानीयबासीसँग अन्तरक्रिया गरी विद्यालयको अवस्थाबारे जानकारी लिएका हुन् ।

मुस्लिम, थारू र मधेसी समुदायका छात्रा लक्षित यो कलेज कपिलवस्तुको दक्षिणी भेगमा अवस्थित छ । महिला हिंसा र सामाजिक सुरक्षाको डरका कारण शिक्षाबाट वञ्चित हुँदै आएका छात्राहरूका लागि यो कलेज महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ ।

हाल कक्षा १२ सम्म मात्र पठनपाठन हुने यस विद्यालयमा भविष्यमा स्नातक तह (ब्याचलर) अध्ययनको व्यवस्था मिलाउने योजना रहेको छ । साथै छात्राहरूको विद्यालय आवागमन सहज बनाउन कलेज बसको आवश्यकता रहेको विषयमा पनि छलफल भएको थियो ।

अध्यक्ष प्रचण्डले यस विद्यालयलाई एक वास्तविक कलेजको रूपमा सञ्चालन गर्दै सामाजिक समावेशीता र लैङ्गिक समानताको नमुना केन्द्रको रूपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, उनले कलेज बसको व्यवस्थाका लागि आवश्यक पहल गर्ने पनि बताए ।