श्रमिकको पारिश्रमिक २ हजार ३०० रुपैयाँ बढ्यो, अब न्यूनतम १७ हजार ३०० पाउने

३२ साउन ०८०, काठमाडौं । सरकारले बिहीबार श्रमजीवी मजदुरको न्यूनतम पारिश्रमिक २ हजार ३०० रुपैयाँ बृद्धि गरेर राजपत्रमा प्रकाशित गरेको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघको निरन्तरताको दबाब र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको विशेष पहलले २०८० साउन १ गतेबाट लागू हुने गरी श्रमिकको पारिश्रमिक २ हजार ३०० रुपैयाँ बृद्धि भएको हो ।

वर्तमान सरकारले चिया बगान बाहेकका श्रमिकको आधारभूत पारिश्रमिक १० हजार ८२० र महंगी भत्ता ६ हजार ४८० रुपैयाँ बृद्धि गरेसँगै श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३०० पुगेको छ ।

यसअघि २०७८ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईदुई वर्षमा बढ्नुपर्ने पारिश्रमिक तेस्रो वर्षबाट लागू हुने गरी आधारभूत पारिश्रमिक ९ हजार ३८५ र मंहगी भत्ता ५ हजार ६१५ रुपैयाँ गरी १५ हजार गराएको थियो ।

राजपत्रमा प्रकाशित पारिश्रमिकअनुसार अब श्रमिकको दैनिक पारिश्रमिक रकम ५७७ रुपैयाँ रहेकोमा बृद्धि भई ६६८ रुपैयाँ पुगेको छ ।

यस्तै आंशिक समय मात्र काम गर्ने कामदारको अब न्यूनतम पारिश्रमिक ७७ रुपैयाँ प्रतिघण्टा रहेकोमा ९५ रुपैयाँ प्रतिघण्टा पुगेको छ ।

सरकारले चिया बगानका श्रमिकको लागि मासिक पारिश्रमिक १३ हजार ८९३ रुपैयाँ पारिश्रमिक निर्धारण गरेको छ भने दैनिक पारिश्रमिक ५ सय रुपैयाँ पुर्याएको छ । साथै, प्रतिघण्टा श्रमिकले ६६ रुपैयाँ पाउने भएका छन् ।