संसदीय दलको नेता गुमाएकी रञ्जिताको अध्यक्ष पद पनि खोसियो

१४ साउन ०८२, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई आफ्नै श्रीमान, पार्टीका संरक्षक रेशम चौधरी समूहको बहुमत केन्द्रीय सदस्यले अध्यक्ष पदबाट हटाउन प्रस्ताव पारित गरेका छन् ।

नाउपा अध्यक्ष श्रेष्ठलाई बुधबार उनकै श्रीमान श्रीमान् रेशम चौधरी पक्षीय केन्द्रीय सदस्य, संघ र प्रदेशका सांसद लगायतको भेलाले पद मुक्त गर्ने प्रस्ताव पारित उनी पदमुक्त हुने भएकी हुन् ।

नाउपाको भेलाले निर्णय लिइसके पनि कानुनी बाध्यता र निर्वाचन आयोगले गर्नसक्ने निर्णयलाई आधार बनाएर थप निर्णय भोलिमात्रै हुने नेताहरूले बताएका छन् ।

रेशमले जेलभित्रैबाट पार्टी गठन गरी १९ पुस २०७८ मा निर्वाचन आयोगमा दल दर्ता गर्दा रञ्जितालाई अध्यक्ष बनाएका थिए ।

आममाफी मार्फत कारागारमुक्त भएदेखि नै रेशमको रञ्जितासँगको मनमुटाव सार्वजनिक रूपमै देखिँदै आएको छ ।

विगतमा केन्द्र र प्रदेश सरकारको विषयमा रञ्जिता माओवादी केन्द्रका पक्षमा र रेशम चाहिँ नेपाली कांग्रेसको पक्षमा उभिएको थियो ।

पति र पत्निको पार्टीभित्र समानान्तर गतिविधिका कारणले २०८१ असारमा रञ्जिताले संसदीय दलको नेता पद समेत गुमाइन भने दल नेता गंगाराम चौधरी बने ।

तथापि, २०८१ असोजमा पार्टी बैठक राखेर श्रीमान श्रीमतीको आपसी विवाद मत्थर पारेर एक भएको घोषणा गरिएको थियो । त्यतिबेला पार्टी बैठक राखेर रेशम र रञ्जिताकोे हस्ताक्षरसहितको निर्णयमा भनिएको थियो, ‘…आपसी मतभेदलाई मत्थर पारी हामी एक भएका हौं र एक रहने छौं ।’

रेशम चौधरीले १५ जेठ २०८० मा आममाफी पाएका थिए भने उनलाई सोही वर्ष पुसमा भएको प्रथम महाधिवेशनले अध्यक्ष चयन गर्यो तर निर्वाचन आयोगले रेशमलाई अध्यक्षमा मान्यता नदिएपछि रञ्जिता अध्यक्षकै जिम्मेवारीमा बहाल भई कार्यसम्पाद गर्दै आइरहेकी थिइन् ।

श्रेष्ठले साउन ११ गते कास्कीका शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएपछि नाउपाभित्र चर्किएको विवादसँगै विकसित आजको राष्ट्रिय भेलाको निर्णयलाई अवैधानिक भन्दै अस्वीकार गर्ने बताएकी छिन् ।

‘मैले कुनै राष्ट्रिय भेला आह्वान गरेको छैन,’ रञ्जिताले भनिन्, ‘पार्टीको विधानअनुसार राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्ष पदमा रहेको छ । त्यसैले भेलाको वैधानिकता, प्रक्रिया र उद्देश्य गम्भीर प्रश्नको घेरामा छ ।’