
२८ चैत्र ०८१, ललितपुर । जिल्लाका क्रियाशील पत्रकारहरूलाई लक्षित गरी ‘सकारात्मक सोच सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ बिहीबार सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाको समन्वय तथा ललितपुर महानगरपालिका वडा नं. २१ को सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वमन्त्री पम्फा भुसालले नेपालबाट खुसीले विदेश जाने र विदेशमा पुगेपछि नेपाललाई नै धारेहात लगाउने तरिका सही नभएको बताएकी थिइन् ।
पूर्वमन्त्री भुसालले विदेश जाने सोचका साथ अध्ययन गर्ने गराउने तर युवा शक्ति विदेश गएपछि जाने र पठाउनेहरुले नेपालमा केही पनि भएन भन्ने गरेको बताउँदै यसको अन्त्य हुनुपर्ने धारणा राखेकी हुन् ।
‘विदेशका सपना देखेर अध्ययन गर्ने र गराउने पद्धति हट्नुपर्छ, विदेशमा जाने बित्तिकै डलर फल्ने हैन, ४०÷५० लाख खर्च गरेर परिवारमाथि ऋणको भार थपेर जानुपर्ने आवश्यकता छैन,’ उनले भनिन्, ‘हाम्रै देशमा विश्वस्तरीय शिक्षा प्रदान गर्ने विद्यालय र विश्वविद्यालय छ, खुसीले विदेश जाने र विदेशमा पुगेपछि नेपाललाई नै धारेहात लगाउने पद्धति हट्नुपर्छ, विदेश जाने संस्कारले राष्ट्रलाई फाइदा गर्दैन ।’
उनले प्रशासनले काम नगर्दा राजनीतिले दोष पाउने अवस्था आएको भन्दै यसलाई सुधार्ने माध्यम मिडिया भएको बताइन् ।
‘विचार सृजना गर्ने माध्यम मिडिया हो, यसप्रति काम गर्न मेरो आग्रह र अनुरोध छ,’ पूर्वमन्त्री भुसालले भनिन्, ‘सामाजिक सञ्जाल र नयाँ प्रविधिका कारण पत्रकारिता समस्यामा छ, सामाजिक सञ्जालको अनुत्तरदायी भूमिकाले नकारात्मकता प्रवद्र्धन गरिरहेको छ, स्वच्छ, तथ्यगत, बस्तुगत समाचार सम्प्रेषणमा ध्यान दिनु पर्नेछ ।’
उनले नेपालको परिवर्तनमा मिडियाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै पत्रकारहरु र मिडियाले आलोचनासँगसँगै सकारात्मक सन्देश प्रवाहमा पनि जोड दिइन् ।
‘आलोचनात्मक समाचार दिने कुरा सही हो, तर नकारात्मकतालाई प्रोत्साहन गर्ने कुरा चाहिँ नराम्रो हो, मिडिया आलोचनात्मक हुनुपर्छ, तर नकारात्मक प्रवद्र्धन गर्ने चाहिँ हुनुहुँदैन,’ उनले भनिन् ।
मान्छेहरूले बिहानको समाचार सुनेर धारणा बनाउने भन्दै मिडियाले पहिला सकरात्मक धारणा बनाउने गरी समाचार सम्प्रेषण गर्नुपर्ने बताइन् ।
ललितपुर महानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष रविन्द्र महर्जनले समाजमा सकारात्मक कुरालाई प्रोत्साहन गर्दै भएको राम्रो कुरालाई जनतासामू प्रभाव पार्नु अहिलेको आवश्यकता रहेको बताएका थिए ।
उनले पत्रकारिता क्षेत्रबाट सकारात्मक कुराहरुको समाजमा प्रचारप्रसार गर्दै सम्भावनाको खोजीलाई जोड दिने गरी लेखेर योगदान दिनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला अध्यक्ष रामहरि कार्कीले किताबी ज्ञान भन्दा जीवनको भोगाइ र अनुभवबाट सीप आर्जन गर्नुपर्ने धारणा राखेका थिए ।













