सप्तरीमा पीसीआर परीक्षण मेशिन जडान, २२ जनाको स्वाब संकलन गरी परीक्षण सुरु

देवराम यादव/२५ जेठ ०७७, सप्तरी । जिल्लाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण आइतबारदेखि सुरुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा प्रदेश २ को सामाजिक विकास मन्त्रालयबाट खटिएको टोलीद्वारा रियल टाइम पिसिआर मेसिन जडान कार्य तथा डेमो गरिसकेपछि औपचारिक परीक्षण कार्य थालिएको हो ।

आइतबार राजविराज नगरपालिकास्थित क्वारेन्टाइनबाट २२ जनाको स्वाब संकलन गरी परीक्षण सुरु गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.चुमनलाल दासले यसअघि अन्यत्रबाट स्वाब रिपोर्ट आउन एक हप्तासम्म लाग्ने गरेको भन्दै राजविराजमै परीक्षण कार्य शुरु भएकाले अब सहज हुने बताए ।

उनले प्रयोगशालामा माइक्रो बायोलोजिष्ट, मेडिकल टेक्नोलोजिष्ट, ल्याब टेक्नेसियन, ल्याब असिस्टेन्ट र सहयोगी समेत गरी १० जना जनशक्ति परिचालित रहेका बताए ।

अस्पताल परिसरमा रहेको प्रयोगशाला भवनमै सञ्चालन हुने उक्त मेसिनबाट एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्नसक्ने क्षमता रहे पनि शुरुमा केही कम स्वाबको स्याम्पल परीक्षण गर्दै दायरा बिस्तारै बढाउने अस्पतालका कोभिड १९ व्यवस्थापन संयोजक डा. रणजित कुमार झाले जानकारी दिए ।

यसअघि राजविराजमा प्रयोगशाला नहुँदा स्वास्थ्य कार्यालय सप्तरी र अस्पतालमा संकलन गरिएका स्वाब धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइदै आएको थियो । डा. झाले त्यहाँबाट स्वाब रिपोर्ट आउन १० दिनसम्म लाग्ने गरेको पनि सुनाए ।