
राजविराज । विभिन्न मुद्दाका फरार प्रतिवादी ४ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा सप्तरीको रुपनी गाउँपालिका–१ का निवर्तमान वडाध्यक्ष पिताम्बर यादव रहेका छन् । भ्रष्टाचार मुद्दामा कैद सजाय पाएर एक वर्षदेखि फरार उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
राजविराज–रुपनी सडकखण्डबाट रुपनीतर्फ जाँदै गर्दा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र्र कुमार बस्नेतले बताए ।
यादव वडाध्यक्ष पदमा निर्वाचित हुनुअघि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा २०६९ माघ १५ देखि ०७४ जेठ १० सम्म तत्कालीन जिल्ला शिक्षा कार्यालय दैलेखमा सब–इन्जिनियर पदमा कार्यरत थिए ।
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा करार सेवामा जागिर खाएका यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सो मुद्दामा ०७४ पुस २१ गते अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) को कसुरमा दोषी ठहर गर्दै ६ महिना कैद र १५ हजार जरिवाना गर्ने फैसला सुनाएको थियो ।
भ्रष्टाचार मुद्दा चलिरहँदा नै यादवले जागिर छाडेर चुनाव लडेका थिए । वडाध्यक्ष पदमा निर्वाचित भइसकेपछि दोषी ठहर भएका यादव सर्वोच्च अदालत गएका थिए । तर, ०८० फागुन २२ गते सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पनि विशेष अदालतकै फैसला सदर गरेपछि यादव लुकिछिपी बस्दै आएका थिए ।
यसै गरी शम्भुनाथ नगरपालिका ३ का कृपाल दासलाई अबैध साल चिरान काठ चोरी जरीवाना ६ हजार १८०, राजगढ गाउँपालिका १ का फुलकुमारीदेवी र देविड यादवलाई लुटपाटमा जनही ७ सय गरी ७ हजार ५८० जरीवानामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए ।













