१९ बैशाख ०८२, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम परम्परागत र गन्तव्यहीन भएको बताएका छन् ।
पूर्वअर्थमन्त्री समेत रहेका पुनले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिक्रिया जनाउँदै यस्तो बताएका हुन् ।
उपमहासचिव पुनले भने, ‘विगतमा नीति स्पष्ट गरिन्थ्यो । मूल कार्यक्रमहरू सरकारले संसदमा नै प्रस्तुत गर्ने गरिन्थ्यो । यसपटक त्यस्तो छैन ।’
सरकारको नीति तथा कार्यक्रम विषयअनुसार स्पष्ट कार्यक्रम राखेपछि संसद्ले अनुमोदन गर्ने र त्यसमा बजेट राख्ने अभ्यास बदल्न खोजिएको भन्दै नेता पुनले भने, ‘संसद्लाई छल्न खोजेको जस्तो देखिन्छ आफूलाई मन लागेअनुसार बजेट बनाउन पनि यस्तो गरिएको हुनसक्छ । सरकार अलि गन्तव्यविहीन चलिरहेको छ, नीतिमा पनि देखिन्छ ।’













