
२८ मंसिर ०८२, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१÷२०८२ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले यस्तो सुझाव दिएका हुन् ।
राष्ट्रपति प्रेस सल्लाहकार किरण पोखरेलले दिएको जानकारीअनुसार राष्ट्रपति पौडेलले फागुन २१ गतेको निर्वाचनलाई प्रभावित नुहने गरी काम गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई सुझाव दिएका छन् ।
राष्ट्रपति पौडेलले अघिपछि भन्दा अत्यन्त तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहितका सुरक्षा निकायलाई निर्देशन दिएका थिए ।
सो अवसरमा राष्ट्रपति पौडेल समक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन पेश गरेकी थिइन् ।













