सरकार प्रमुख कसलाई बनाउने भन्ने विषयमा जेन–जी युवा बीच झडप

२६ भदौ ०८२, काठमाडौं । अन्तरिम सरकारको प्रमुख कसलाई बनाउने भन्ने विषयमा जेन–जी समूहका युवाहरुले एकअर्काका सिफारिसलाई अस्वीकार गर्दा सुन्धारा अगाडि झडप भएको छ ।

बुधबार जंगीअड्डा गेटबाट माइकिङ गरेर नेपाली सेनाले जेन्जी आन्दोलनका विभिन्न समूहको ‘लिडर’ को नाम र फोन नम्बर टिपाएर बिहीबार बिहान सम्पर्कमा आउन भनेको थियो । त्यसक्रममा आज त्यहाँ भेला भएका युवाहरु बीच कुरा नमिल्दा झडप भएको हो ।

जेनजी आन्दोलनपछि नयाँ अन्तरिम सरकार गठनको दाबी गर्दै विभिन्न समूह अहिले सुन्धारा क्षेत्रमा भेला भएका छन् ।

उनीहरुले अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा शुशीला कार्की, बालेन शाह, कुलमान घिसिङ र हर्क साम्पाङलाई अघि सारेका छन् ।

प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिएपछि अहिले मुलुक सरकारविहीन अवस्थामा छ ।