सरकार र तिलगंगा बीच आँखा सेवामा पहुँच बढाउने गरी सम्झौता

४ चैत ०८१, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल आँखा कार्यक्रम तिलगंगासँग आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउने गरी सम्झौता गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र तिलगंगाका कार्यकारी निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतको उपस्थितिमा आइतबार सम्झौता भएको हो ।

सम्झौताअनुसार मन्त्रालयले तिलगंगाको सेवा तथा क्षमता वृद्धिका लागि सघाउनेछ । तिलगंगाले उत्पादनको १० प्रतिशत लेन्स निःशुल्क उपलब्ध गराउने छ । जस अनुसार एक लाख उत्पादन भए १० हजार लेन्स निःशुल्क उपलब्ध हुनेछ ।

सरकारको भन्सार तथा मूल्य अभिवृद्धि कर छुटमा तिलगंगाबाट उत्पादित लेन्स विभिन्न देशमा निर्यात भइरहेको छ ।

अहिलेको सम्झौताअनुसार तिलगंगाले ती लेन्स नेपाली नागरिकका लागि प्रयोग हुँदा हालको रकममा छुट प्रदान गर्नेछ ।

यसैगरी तिलगंगाले आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्दै अन्धोपन निवारणका लागि दक्ष जनशक्ति उत्पादन गरी ग्रामीण तहसम्म आँखा स्वास्थ्य सेवा पु¥याउनेछ ।

तिलगंगाका परियोजना कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमार्फत समन्वय र सहकार्य गर्ने सम्झौतामा उल्लेख छ ।

यसैगरी, कार्यक्रम सञ्चालन भइरहेका जिल्लामा आँखा कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकार तथा स्थानीय सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्ने समेत सम्भौतामा उल्लेख गरिएको छ ।

मन्त्रालयले मोतियाबिन्दु शल्यक्रिया पश्चात प्रयोग हुने लेन्स उत्पादनका लागि कच्चा पदार्थ र उपकरण आयातमा भन्सार तथा मूल्य अभिवृद्धि करमा सहुलियतका लागि सिफारिस दिने सम्झौता गरेको छ ।

सम्झौताअनुसार मन्त्रालयले तिलगंगाले आँखा कार्यत्रम सञ्चालन गरेका अस्पतालमा प्राविधिक तथा स्वास्थ्यकर्मीको सीप अभिवृद्धिका लागि सघाउने छ ।