सांसद विश्वकर्मा नीति तथा कार्यक्रममाथि प्रतिक्रिया दिन रोस्ट्रममा गएसँगै मौन

२७ बैशाख ०८२, काठमाडौं । नेकपा एमालेका सांसद चन्द्रबहादुर विश्वकर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसद रोस्टममा उभिएर मौन प्रतिक्रिया दिएका छन् ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रममाथि बोल्न सभामुखले उनलाई ५ मिनेटको समय दिएर बोलाएपछि सांसद विश्वकर्मा रोस्ट्रममा गएसँगै नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा प्रस्तुत गरेको स्मरण गरे ।

उनले आफू पनि रोस्ट्रममा नीति तथा कार्यक्रममाथि प्रतिक्रिया दिन उपस्थित भएको बताए । त्यसपछि मौन रहे ।

सांसद विश्वकर्मा समय सकिन लागेपछि ‘सभामुख महोदय समयका लागि धन्यवाद’ भनेर बिदा भएका थिए ।

उनी माओवादी पृष्ठभूमिका नेता हुन् भने माओवादीबाट दलित मुक्ति मोर्चाका कर्णाली प्रदेश इन्चार्जसमेत बनेका थिए । २३ फागुन २०७७ मा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकता भंग गरिदिएपछि विश्वकर्मा एमाले प्रवेश गरेका हुन् ।