सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन सम्बन्धी विधेयक २०८१ फिर्ता लिने सरकारको निर्णय

२० माघ ०८२, काठमाडौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकृत प्रदान गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा विचाराधीन सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदबाट फिर्ता लिने निर्णय गरेको हो । यो सँगै अब सामाजिक सञ्जाल सम्बन्धी छुट्टै ऐन बनाउन चाहेको खण्डमा सरकारले पुनस् अर्को विधेयक ल्याउनुपर्ने हुन्छ ।

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो विधेयक ल्याएका थिए । १५ माघ २०८१ मा राष्ट्रिय सभामा दर्ता भएको विधेयक विवादका कारण धेरै अगाडि बढ्न सकेको थिएन ।

त्यस्तै, बैठकले निर्माणाधीन संसद भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरुयोजनाको संशोधन गर्न स्वीकृत दिने निर्णय पनि गरेको छ ।