सामाजिक सुरक्षा कोषको १ खर्ब २६ अर्ब रुपैयाँ लगानी

११ मंसिर ०८२, काठमाडौं । सामाजिक सुरक्षा कोषले १ खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको छ ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमा योगदानकर्ताबाट जम्मा भएको ९५ अर्बसहित १२६ अर्ब रुपैयाँ सामाजिक सुरक्षा कोषले विभिन्न ठाउँमा लगानी गरेको जानकारी दिए ।

आठौँ सामाजिक सुरक्षा कोष दिवसका अवसरमा उनले लगानी कार्यविधि बमोजिङ मुद्दति खातादेखि विभिन्न ऋणपत्रमा लगानी गरेको बताए ।

कार्यकारी निर्देशक अधिकारीकाअनुसार ५८ अर्ब ८९ करोड बैंकको विभिन्न मुद्दतिमा लगानी भएको छ भने ३२ अर्ब १९ करोड ट्रेजरी बिलमा, २१ अर्ब ७६ करोड विकास ऋणपत्रमा, ४ अर्ब ५२ करोड डिबेन्चरमा, १ अर्ब ९५ करोड म्याचुयल फन्डमा लगानी गरेको जानकारी दिए ।

त्यस्तै कोषले २० हजार योगदानकर्तालाई सापटी बापत ७ अर्ब ७९ करोड ८३ लाख रुपैयाँ रकम लगानी गरेको छ । योगदानकर्ता सापटी अन्तर्गत कोषले वार्षिक ५.२ प्रतिशत व्याजदरमा विशेष सापटी दिने गरेको छ ।

अधिकारीकाअनुसार कोषमा श्रमिकहरूको आवद्धताका लागि ११४ ओटा पालिकासँग एमओयू गरिसकिएको बताए । केही पालिकाले योगदान रकम जम्मा गर्न थालिसकेको उनको भनाइ छ ।