२० जेठ ०८२, काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरुले आफ्ना सवारी साधन नचलाउने आन्दोलन फिर्ता लिन सहमत भएका छन् ।
प्रधानमन्त्री कार्यालयले रातो नम्बर प्लेटका सवारी साधनले यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याइएको राइडसेयरिङ नियमावली स्थगन गर्न पत्राचार गर्ने भएपछि यातायात व्यवसायीहरु सवारी नचलाउने निर्णय फिर्ता लिन सहमत भएका हुन् ।
सोमबार राति सरकारी वार्ता टोली र सार्वजनिक यातायात व्यवसायीका प्रतिनिधिहरूबीच भएको छलफलबाट सहमति भएको हो ।
वार्ता टोलीका संयोजक रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्ण पन्थले छलफल निष्कर्ष उन्मुख रहेको बताउँदै मंगलबार कार्यालय खुल्नासाथै पत्राचारको काम हुने र यातायात बन्द पनि फिर्ता हुने बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरकाअनुसार गण्डकी प्रदेश सरकारलाई प्रधानमन्त्री कार्यालयले पत्राचार गरेर गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गर्नासाथ आन्दोलनको कार्यक्रम फिर्ता हुने बताए ।
राइड सेयरिङ र सेल्फ ड्राइभलाई गण्डकी प्रदेश सरकारले मान्यता दिँदै नियमावली जारी गरेपछि सार्वजनिक यातायात व्यवसायीहरुले गण्डकी प्रदेशमा गत शुक्रबारदेखि सार्वजनिक यातायात सञ्चालन गरेका थिएनन् ।













