सिपलाई उत्पादनमा बदल्न सके मात्र समृद्ध समाज निर्माण हुन्छ – शिक्षामन्त्री पोखरेल

२८ मंसिर ०७६, विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारी शिक्षकहरूलाई गुणस्तरीय शिक्षा दिन नसक्ने भए नै पेशा परिवर्तन गर्न सुझाएका छन् ।

प्रेस संगठन मोरङले शनिबार विहान विराटनगरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री पोखरलले सरकारी विद्यालय जागिर खाने होइन भन्दै गुणस्तरीय शिक्षा दिन नसक्ने शिक्षकले पेशा परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

‘सबै विद्यार्थीले क्वालिटीको एजुकेशन पाउनु पर्छ, त्यसको व्यवस्था सरकारले मिलाउँछ’ मन्त्री पोखरेलले भने, शिक्षकले विद्यार्थीलाई क्वालिटीको एजुकेशन दिन सक्दैनन् भने उनीहरुले पेशा परिवर्तन गरे हुन्छ । विद्यालय जागिर खानेमात्र थलो होइन ।’

उनले शिक्षक सक्षम नभई गुणस्तरीय शिक्षा दिन नसक्ने भन्दै सरकारले उनीहरुलाई सक्षम बनाउन कुनै पनि कसर बाँकी नराख्ने समेत बताए ।

मन्त्री पोखरेलले प्रविधिक शिक्षामा जोड दिन सके मात्र समाज समृद्ध हुने बताउँदै शिक्षालाई श्रम, प्रविधि र सिपसँग र सिपलाई उत्पादनमा बदल्न सके मात्र समृद्ध समाज निर्माण हुने बताए ।

‘शिक्षालाई श्रम, प्रविधि र सिपसँग जोड्नु पर्छ; सिपलाई उत्पादनमा बदल्नुपर्छ अनि मात्र समृद्ध समाज निर्माण हुन्छ’, मन्त्री पोखरेलले भने ।