सुदूरपश्चिम प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारी पदबाट निलम्बन

२६ जेठ ०८२, सुदूरपश्चिम । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता सुदूरपश्चिम प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको छ ।

आजको बैठकमा सभामुख भीमबहादुर भण्डारीले उनलाई निलम्बन गरिएको व्यहोरा जानकारी गराएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्र अनुसार सोडारी उपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी प्राप्त भएकाले उनलाई प्रदेशसभा सदस्य पदबाट निलम्वन गरिएको सभामुख भण्डारीले बताए ।

वि.सं. २०७९ मा भएको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र–४ को प्रदेशसभामा तत्कालीन गठबन्धनका तर्फबाट प्रत्यक्ष निर्वाचित सोडारीलाई पदको दुरुपयोग गरेर अकूत सम्पत्ति आर्जन गरेको ठहर गर्दै आयोगले विशेष अदालतमा केही दिन अघि आरोपपत्र दायर गरेको थियो ।