सुनकोशीमा खसेको स्कार्पियो पाँचौं दिन, २ वटा शवसहित भेटियो

 

२३ जेठ ०८०, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका अधिकारीहरु सवार गाडी पाँचौं दिन सुनकोशीमा २ वटा शवसहित फेला परेको छ ।

सशस्त्र प्रहरीका डीएसपी तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले दिएको जानकारी अनुसार खुर्कोट–घुर्मी सडकखण्डबाट सुनकोशीमा खसेको बीएबी ७४६७ नम्बरको स्कार्पियो जीप पानी अर्कोतिर कटाएर खोजी गरिएपछि गाडीसँगै २ वटा शव फेला परेको हो ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको स्कार्पियो जीपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार गाडी सुनकोशीमा खसेको थियो । जीप चालक कृष्ण चौधरी भने घाइते अवस्थामा पौडिएर निस्किएका थिए ।