सुन तस्करी प्रकरणमा पक्राउ परेकालाई अनुसन्धान गर्न १५ दिन म्याद थप

१४ साउन ०८०, काठमाडौं । उच्च अदालत पाटनले सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ जना आरोपितलाई अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको हो ।

विभाग स्रोतकाअनुसार सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङ र २ साउनयता पक्राउ परेका १७ जनालाई म्याद थप गरिएको छ ।

विभागले २ साउनमा सुन तस्करी हुँदै गरेको बेला ट्याक्सी चालक अशोक लामा र भन्सार बिचौलिय राजेन्द्र राइलाई पक्राउ गरेको थियो ।

त्यसैदिन राति रेडी ट्रेडर्सका सञ्चालक दिलीप भुजेल, दिलीपका मामा रामकुमार भुजेल र दिलीपलाई कम्पनी खोल्न सघाएका हर्कराज राईलाई नियन्त्रणमा लिएको थियो ।

३ साउनमा सुन भारत पु¥याउन सहयोगी भूमिका खेलेको भन्दै तिब्तीयन मूलका भारतीय नागरिक थुप्तेन छिरिङ पक्राउ परेका थिए भने ४ साउनमा चिनियाँ नागरीक क्युयाङ लीन अध्यगमन विभागबाट पक्राउ परेका थिए ।

४ साउनमै विभागले सुन तस्करीको सामान आयात गर्ने कार्गोका सञ्चालकहरु राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुस्करराज भट्टलाई पक्राउ गरेको थियो ।

तस्करीको सुन भन्सार पास गर्न सघाएको आरोपमा ७ साउनमा भन्सार अधिकृत सन्तोष चन्दसहित ६ जना पक्राउ परेका थिए । अधिकृत सन्तोष चन्द, भन्सार जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सारोज श्रेष्ठ पक्राउ परेका थिए ।

यस्तै तस्करीको सुन आयातमा सहजीकरण गरेको भन्दै विभागको टोलीले भन्सार एजेन्टहरु यादव शंकर पराजुली, सुर्दशन गौतम र रुकमिना सुब्बा पक्राउ गरेका थिए ।

यस्तै १० साउनमा विभागले चिनियाँ तस्करलाई गोदाम भाडामा खोजिदिने नुवाकोटका नरेश भनिने सन्तोष तामाङलाई नियन्त्रणमा लिएको थियो ।