सुरक्षित गर्भपतनका लागि वीरगञ्जमा युवा पहुँच परियोजना सञ्चालन

वीरगञ्ज । किशोर तथा युवाहरूमाझ सुरक्षित गर्भपतनसम्बन्धी सेवा र जानकारीलाई प्रवर्धन गर्न ‘युवा पहुँच परियोजना’ सक्रिय रूपमा सञ्चालनमा आएको छ ।

परियोजनाले युवाहरूलाई सुरक्षित यौन र प्रजनन स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । युवा संस्थाको अगुवाइमा सञ्चालन भइरहेको यो परियोजनाले विशेष गरी १५ देखि २४ वर्ष उमेर समूहका किशोर–किशोरी र युवाहरूलाई लक्षित गरेको जनाइएको छ ।

युवा संस्थाका वीरगंज संयोजक आसु सर्राफले संस्थाले विद्यालय, कलेज र समुदायस्तरमा पुगेर परियोजनाले सुरक्षित गर्भपतन, यौन शिक्षा, असुरक्षित गर्भपतनको जोखिम, तथा उपलब्ध निःशुल्क सेवाहरूको बारेमा सचेतना कार्यक्रम गर्दै आइरहेको बताए ।

 सुरक्षित गर्भपतनको अधिकार हरेक महिलाको मानव अधिकार भएको र युवा संस्थाको प्रयास भनेको युवालाई सही जानकारीसहित सेवा उपलब्ध गराई उनीहरूले समयमै निर्णय लिन सकून् भन्ने रहेको उनले बताए ।

“युवाहरूलाई लक्षित सेवामा परामर्श सेवा, निःशुल्क गर्भनिरोधक साधन वितरण र आवश्यक परेमा सुरक्षित गर्भपतन सेवा समावेश गरिएको छ,” उनले भने, “परियोजनाले युवा मैत्री स्वास्थ्य सेवा केन्द्रहरूमा सेवा विस्तार गर्दै समुदायमा रहेको भ्रम र लाजको वातावरण तोड्ने प्रयास गरिरहेको छ ।”

वीरगंजको नारायणी अस्पतालका प्रसुति तथा स्त्री रोग विशषज्ञ डा.मञ्जु रायकाअनुसार परियोजनाले सुरक्षित गर्भपतनसम्बन्धी सेवामा राम्रो प्रभाव पारेको छ भने किशोरीहरु खुलेर बोल्न थालेका छन् भने खुलस्त रुपमा सुरक्षित गर्भपतनसम्बन्धी सेवामा जानकारी लिन थालेका छन् ।

डा.रायले भने, “किशोरीहरु अहिले सुरक्षित गर्भपतनका लागि सरकारी अस्पतालमा आउने गरेका छन् । युवा संस्थाले गर्भपतनसम्बन्धी सेवामा राम्रो प्रभाव पारेको छ ।”

परियोजनाले आगामी महिनाहरूमा वीरगञ्जका विभिन्न वडाहरूमा मोबाइल हेल्थ क्याम्प पनि सञ्चालन गरिने तथा स्वास्थ्यकर्मीहरूले निःशुल्क सेवा र परामर्श दिने जनाएको छ ।

नेपालमा सन् २००२ मा गर्भपतनलाई कानूनी मान्यता दिइएको भएपनि अझै पनि नेपालका धेरै महिलाहरू असुरक्षित गर्भपतन गर्न बाध्य छन् ।

नेपालमा गर्भपतन कानूनी मान्यता दिइएपनि सेवा सबैका लागि सहज र सुरक्षित नहुँदा तथा जानकारीको कमी, स्वास्थ्य सेवामा पहुँचको अभाव र सामाजिक दबाबका कारण आज पनि सयौँ महिलाहरू असुरक्षित तरिकाले गर्भपतन गर्न बाध्य भई असुरक्षित गर्भपतन एक गम्भीर सार्वजनिक स्वास्थ्य समस्याको रूपमा देखिएको छ ।

युवाको नेतृत्वमा सञ्चालित संस्था युवाले वीरगंजमा सुरक्षित गर्भपतनसम्बन्धी पहुँच विस्तार गर्ने उद्देश्यले युवा पहुँच परियोजना सन् २०२१ देखि कार्यान्वयन गर्दै आएको छ ।