काभ्रे । सामाजिक अभियान्ता नवराज बजगाईले ‘सेवा घर’का ५२ जना बृद्धबृद्धा र असहायलाई खाद्यान्न, लत्ता कपडासहित २५ हजार रूपैयाँ सहयोग गरेका छन् ।
नव क्षितिज साप्ताहिकका प्रधान सम्पादक एवं सामाजिक अभियान्ता नवराज बजगाईले आफ्नो जन्मदिन (असार १८ गते)को अवसर पारेर धुलिखेल–१२ मा रहेको मानव कल्याण समाजले सञ्चालन गरेको बृद्धबृद्धा र असहायलाई खाना खुवाएसँगै खाद्यान्न, लत्ता कपडा र उक्त नगद रकम सहयोग गरेका हुन् ।
पत्रकार बजगाईले सेवा घरलाई आगामी दिनमा पनि सहयोग गर्ने बताउँदै आफ्नो जन्मदिन घरमै मनाउनुभन्दा पनि सामाजिक संस्था र काममा जोडेर मनाउन पाउँदा खुशी लागेको बताए ।
सो कार्यक्रममा बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटा दाहाल, अरबिन्द्र गौतम, दिपक राउत, धुलिखेल–१२ का पूर्ववडा अध्यक्ष एवं सेवा घर व्यवस्थापन समितिका संयोजक हर्कसिं तामाङ, धुलिखेल–१२ का वडा अध्यक्ष मोहन प्रसाद लामिछाने, धुलिखेल–१० का वडा अध्यक्ष गोबिन्द भण्डारी, बनेपा–५, का वडा अध्यक्ष बलराम अधिकारी, बनेपा–१०, का वडा अध्यक्ष चन्द्रबहादुर खड्का, बनेपा–११, का वडा अध्यक्ष शिव थापा, मानव कल्याण समाजकी अध्यक्ष सुमी मानव लगायतको उपस्थिति रहेको थियो ।
मानव कल्याण समाजकी अध्यक्ष सुमी मानवले सडक तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य भएकालाई उद्धार गरी व्यवस्थापन गर्ने गरिएको जानकारी गराउँदै धुुलिखेलमा ५२ जनासहित विभिन्न ६ शाखामा गरी अहिले ४ सय भन्दाबढी आश्रित रहेको जानकारी दिइन् ।













