काठमाडौ । अधिवक्ता बिष्णु गिरीले देशैभरिका स्थानीय निकायमा कानूनी साक्षरता अभियान सञ्चालन गरिनुपर्ने जोड दिएका छन् ।
ललितपुर बार एसोसियसनका सदस्य समेत रहेका अधिवक्ता गिरीले नागरिक समाजले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

कानूनका जान्नैपर्ने आधारभूत कुरा बुझाएर जनतालाई सूचित बनाउन यो अभियान आवश्यक रहेको बताउँदै उनले कुन विषय र मुद्दामा कस्तो कानून आर्कषण हुन्छ भनेर ग्रामीण क्षेत्रका बासिन्दालाई जानकारी भयो भने अपराध न्युनीकरणमा सहयोग पुग्ने अधिवक्ता गिरीको भनाइ छ ।
ज्यान सम्बन्धी, करणी, विवाह, अपहरण, शरीरबन्धक, बोक्सीको आरोप, छुवाछुत र भेद्भाव सम्बन्धी कानूनी साक्षरता ज्ञान स्थानीय निकायमा आवश्यक रहेको उनले बताए ।
अंश, सम्बन्धविच्छेद, अपुताली, दानबकस, लिखत पारित लगायतको मुद्दाको बारेमा पनि स्थानीय निकायले कानूनी साक्षरताको माध्यमबाट जनतालाई बुझाउनको लागि पनि अभियान आवश्यक रहेको बताउँदै अधिवत्ता गिरीले भने, ‘कानूनको सिद्धान्तमै कानूनको अज्ञानता क्षम्य नहुने भन्ने ब्यबस्था छ । कसैले कुनै गल्ती गर्यो र मलाई यो थाहा थिएन, मैले जानिन् भनेर क्षमा पाउँदैन । त्यसैले पनि हरेक नेपाली र नेपालमा बस्ने बिदेशीले समेत नेपालको कानूनको बारेमा जानकारी राख्न आवश्यक छ ।’













