
स्याङजा । कृषक तथा उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि स्याङ्जामा रहेका बैंकहरुले सहजीकरण गर्ने भएका छन् । कृषकहरुले सहजरुपमा कृषि कर्जा नपाएको गुनासो गरे पछि बैङ्कहरुले सहजीकरण गर्ने र कर्जा उपलव्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।
वालिङ र गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकाका जनप्रतिनिधि तथा कृषकहरुसँगको छलफल पछि बैङ्कका प्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
वालिङमा भएको कार्यक्रममा गरिमा बिकास बैङ्कका क्षेत्रीय प्रमुख लेखनाथ भट्टराईले सहज रुपमा कर्जा पाउने तरिकाका बारेमा कृषकहरुमा जानकारी कम रहेको बताए ।

वित्तीय साक्षरताका लागि पालिकाहरुसँग सहकार्य गर्ने बताउँदै भट्टराईले भने, “ऋण बारेको जानकारी अभाव भएका कारण कृषकलाई कुरा बुझाउनै सकिएको छैन ।”
कृषि विकास बैङ्क वालिङका प्रमुख यमप्रसाद आचार्यले वास्तविक कृषकलाई ऋण प्रवाह गर्न आफूहरु प्रतिबद्ध रहेको बताउँदै बैङ्कको कूल लगानीको २५ प्रतिशत कर्जा कृषिमा लगानी गरिदै आएको जानकारी दिए ।
नेपाल बैङ्क वालिङका प्रमुख दर्शना भट्टराईले ऋण एक शिर्षकमा लिने र खर्च अर्काे शिर्षकमा गर्ने क्रम बढेको बताए । उनले भने, “ऋण लिएर कृषि कर्म गर्नहरुको लागि हामीले सहयोग गर्छौ ।”
कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रे, गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने र कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले कृषकहरुका लागि सहुलियत कर्जा प्रदान गर्न पालिकाले सहकार्य गर्ने बताए । उनीहरुले सस्तो व्याजदर र बिनाधितो थोरै कर्जाले ठूलो काम हुने भन्दै बैङ्कहरुले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।













