
देवराम यादव/३ असार ०७७, सप्तरी । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकास्थित स्वास्थ्य चौकीको सम्पूर्ण सेवा चार दिनदेखि ठप्प रहेको छ ।
उक्त स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोभिड–१९ संक्रमण पुष्टि भएसँगै सुरक्षाका लागि भन्दै गत आइतबारदेखि सबै सेवा बन्द गरिएको हो ।
स्वास्थ्य संयोजक रामदेव यादवले यस स्वास्थ्य चौकीबाट हनुमाननगरस्थित क्वारेन्टाइन केन्द्रमा खटिएका एक स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि सुरक्षाका लागि हाल स्वास्थ्य चौकीबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले गत शनिबार कोरोना संक्रमित पुष्टि भएका स्वास्थ्यकर्मीलाई अहिले साईकृष्णा अस्पतालको आइसोलेशन कक्षमा राखी उपचार भइरहेको जानकारी दिए ।
यादवले संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका सोही स्वास्थ्य चौकीका अन्य पाँच जना स्वास्थ्यकर्मीलाई हाल होम क्वारेन्टाइनमा राखिएकाले उक्त स्वास्थ्य चौकीको सेवा प्रभावित बनेको बताउँदै होम क्वारेन्टाइनमा राखिएका स्वास्थ्यकर्मीहरुको पनि स्वाब संकलन गरी परीक्षणका लागि पठाइसकिएको र रिपोर्ट आएपछि सोही अनुसार सेवा पुनःसंचालन बारे आवश्यक निर्णय लिइने बताए ।
अव्यवस्थित क्वारेन्टाइन बिरुद्ध यूवाहरुको प्रदर्शन

राजविराजमा युवाहरुले सप्तरीमा अव्यवस्थित क्वारेन्टाइनका कारण विभिन्न घटना हुन थालेको भन्दै प्रदर्शन गरेका छन् ।
स्थानीय राजरंगशालाबाट भौतिक दूरी कायम राखेर सुरुभएको प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा पश्चात् सहिद दशन चौकमा पुगी कोणसभामा परिणत भएको थियो ।

नगर क्षेत्र परिक्रममा गरेका युवाहरुले नयाँ नक्साका लागि धन्यवाद छ सरकार, अब द्रुतगतिमा अघि बढाऊ पिसिआर, रोक भ्रष्टाचार दु्रत गतिमा परीक्षण गर पिसिआर, मापदण्ड विपरीतका क्वारेन्टाइन बन्द गर लगायतका नाराहरु लखिएका प्ले कार्ड बोकेका थिए ।
प्रदर्शनमा सहभागीहरुले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणमा ध्यान नदिई सरकार भ्रष्टचारमा लिप्त रहेको तथा मापदण्ड विपरीतका क्वारेन्टाइन निर्माणका कारण क्वारेन्टाइन नै संक्रमण बढाउने र अपराधको कारखाना बन्दै गएको सहभागीहरुले बताएका थिए ।

उनीहरुले सुस्त गतिमा भइरहेको पिसिआर परीक्षणमा तिब्रता दिनु पर्ने तथा कोरोना जोखिम नियन्त्रणका लागि खडा गरिएको कोषबाट भएको सम्पूर्ण आम्दानी र खर्च विवरण सार्वजनिक गर्नुपर्ने माग समेत गरेका छन् ।
प्रसुति गृहहरुमा स्वास्थ्य सामग्री उपकरणहरु प्रदान

सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपाल राजविराजले सप्तरीको सुरुङ्गा नगरपालिका र खडक नगरपालिकाको विभिन्न वडाहरुमा रहेका ५ प्रसुति गृहहरुलाई १२ लाख मुल्य बराबरको स्वास्थ्य सामग्री उपकरणहरु प्रदान गरेको छ ।
ती स्वास्थ्य सामग्री उपकरणहरु सम्बन्धित नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतमार्फत् स्वास्थ्य शाखा प्रमुखहरुलाई हस्तान्तरण गरिएको हो ।
दुबै नगरपालिकामा सञ्चालित समुन्नति परियोजना अन्र्तगत मातृत्व तथा नवजात शिशु कार्यक्रम अन्तर्गत प्रसुति गृहमा स्वास्थ्यकर्मीहरुलाई प्रसुति गराउने कार्यमा सहयोग हुने उद्देश्यका साथ ती सामाग्री प्रदान गरिएको सबल नेपालले जनाएको छ ।
सबल नेपाल सप्तरीले खडक नगरपालिकामा रहेका प्राथमिक स्वास्थ्य केन्द्र (प्रसुतिगृह) कल्याणपुर, खोजपुर र बनरझुला र सुरुङ्गा नगरपालिका अन्र्तगतका प्राथमिक स्वास्थ्य केन्द्र (प्रसुतिगृह) कडरबोना र पिप्रापश्चिममा वेवीवार्मर, पि.पि.ई सेट, सेनिटाइजर, ग्लोव, माक्स, गमवुट, के.एम.सी., र्यापर, रुम थर्मोमिटर, ग्यास सेट, रुम हिटर, वेवी वेटिङ्ग मेसिन, आईभी स्टेन्ड, मेडिसिन ट्रली, वेवी व्याग, लगायतका सामग्री प्रदान गरिएको बताएको छ ।













