हुम्लामा ज्येष्ठ नागरिकको उपचारका लागि छुट्टै शय्याको व्यवस्था

१४ माघ ०८१, हुम्ला । जिल्ला अस्पताल हुम्लामा ज्येष्ठ नागरिकको उपचारका लागि छुट्टै शय्याको व्यवस्था गरिएको छ ।

सामाजिक सुरक्षा इकाई शाखाका उजिर बोहराले दिएको जानकारीअनुसार जिल्ला अस्पतालमा उपचारका लागि आउने ज्येष्ठ नागरिकलाई अन्य बिरामीसँगै उपचार हुँदा समस्या हुने भएकाले छुट्टै शय्याको व्यवस्था गरिएको हो ।

उपचारका लागि आउने ज्येष्ठ नागरिकका लागि दुई शय्या र ज्येष्ठ नागरिकलाई न्यानोका लागि दुई हिटरको व्यवस्था गरेको बोहराले जानकारी दिए ।

जिल्ला अस्पतालमा चार वर्षदेखि संघीय सरकारको स्वास्थ्य मन्त्रालयबाट ज्येष्ठ नागरिक कार्यक्रम लागुहुँदै आएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. प्रतिक्षा भारतीले जानकारी दिइन् ।

माघदेखि अस्पतालमा भर्ना भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सो व्यवस्था गरिएको उनले बताइन् । उनका अनुसार ७५ वर्ष भन्दामाथिका सबै खाले ज्येष्ठ नागरिकलाई अस्पतालमा उपलब्ध हुने सबै सेवा निःशुल्क छ ।

त्यसैगरी ६५ देखि ७४ वर्षको ज्येष्ठ नागरिकलाई ७५ प्रतिशत छुट र ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक कार्यक्रमका लागि १० लाख बजेट केन्द्रबाट उपलब्ध हुँदै आएको छ ।