
२० बैशाख ०८२, हेटौंडा । शुक्रबार दिउँसो हेटौंडा उपमहानगरपालिकाको गैरीगाउँमा सडक भासिँदा पिकअप भ्यान बेपत्ता भएको छ ।
उपमहानगरको १६ र १७ नम्बर वडा जोडिएको भित्री कच्ची सडकखण्डमा घाँस काट्ने मेसिन बोकेको ना४च ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी (भ्यान) सडक भासिँदा हराएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले दिएको जानकारीअनुसार गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेर भ्यान गायब भएको हो ।
गाडीका चालक र सहचालक गाडी धसिनुअघि नै निस्किएका बच्न सफल भएको छ ।
भ्यानका सहचालकले भने, ‘गाडी धसिन थालेपछि डोरी लगाएर तान्न खोज्यौं । मान्छेले तानेर कहाँ हुन्थ्यो र ? डोरीसहितै गयो नि गाडी !’
उनले चालक र आफू घटनास्थलमा गाडीमै रहेको तर भासिन थालेपछि हाम्फालेर जोगिएको बताए ।
पानी कटाएर गाडीको खोजी कार्य भइरहेको तर पानीमा गाडीको भाग नदेखिएको प्रहरीले जनाएको छ ।













