होटल मजदुरले १० प्रतिशत सेवा शुल्क, सामाजिक सुरक्षा कार्यान्वयन नभए संघर्ष गर्ने

२८ साउन ०८२, काठमाडौं । अखिल नेपाल होटल क्यासिनो तथा रेष्टूराँ मजदुर संघले होटल क्षेत्रमा काम गर्ने श्रमिकका लागि १० प्रतिशत सेवा शुल्क, न्युनतम् वेतन, सामाजिक सुरक्षा कार्यान्वयन नभए संघर्ष गर्ने भएको छ ।

आज काठमाडौंको मल्ल होटलमा बसेको संघको पाँचौं केन्द्रीय समितिको बैठकले चैत्र मसान्तसम्म ५ हजार सदस्य बृद्धि गर्ने साथै कानून बनाएर १० प्रतिशत सेवा शुल्क, न्युनतम् वेतन, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन नगरिए सशक्त संघर्ष गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले आउटसोर्सिङको माध्यमबाट श्रमिक आपूर्ति गर्ने कार्य बन्द गर्न श्रम ऐन नै संशोधन गर्नुपर्ने भन्दै संगठनका पदधिकारीहरू हप्तामा एक दिन ४ घण्टा उत्पादन कार्यमा जोडिनु पर्ने निर्णय गरेको छ । साथै, ०८२ भदौ १ गते संघका महिला कमिटीको आयोजनामा तीज विशेष कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता एवम् सञ्चालनमा बसेको उक्त बैठकमा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो भने अखिल नेपाल ट्रेड युनियन महासंघका इन्चार्ज रामदिप आचार्य, अध्यक्ष जगत सिम्खडा, उपाध्यक्ष धनबहादुर विक, एसबी थापा, प्रकाश श्रेष्ठ, विष्णु थापा, सोम तामाङ, महासचिव शालिकराम काफ्ले, उपमहासचिव माधव पाण्डे, शीव पोखरेल, रामचन्द्र कार्की, सचिव संगिता बानिया, कोषाध्यक्ष इन्दिरा शर्मा, सचिवालय सदस्य रुद्र गौतम, राजेन्द्र न्यौपाने, मुक्ति दास लगायतको आतिथ्य रहेको थियो ।