काठमाडौं । नेकपा माओवादी (केन्द्र)बाट गाउँपालिका अध्यक्ष निर्वाचित राजकुमार पौडेल सुन तस्करीका मुख्य नाइकेका रूपमा प्रहरीको खोजी सूचीमा परेका छन् ।
दुई साताअघि राजधानीको टोखाबाट १४ किलो र जनकपुरबाट १ किलो सुन बरामद हुनेबित्तिकै पौडेल फरार रहेको आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
सुनसँगै पक्राउ परेका पेम्बा शेर्पालगायतको बयान र अन्य स्रोतबाट सुन तस्करीका मुख्य योजनाकारका रूपमा देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पौडेलको खोजी गर्दै आएको छ ।
पहिलो संविधानसभा निर्वाचनमा माओवादीबाट सांसद जितेका एक केन्द्रीयस्तरको नेताको ठाडो पहलमा टिकट पाएका उनी त्यसभन्दा पहिले नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता हुन् । सीआईबीले पौडेलबाहेक राजधानीका एक चर्चित सुन डिलर रमेश खड्काको पनि खोजी गरिरहेको छ ।
उनीहरू दुवैले नेपाल र भारतका बजारमा अवैध सुन वितरण गर्न बलियो सन्जाल बनाएको प्रहरीको दाबी छ । प्रहरीले बरामदीपछिका केही दिन दुवैको खोजीका लागि राजधानीभित्रैका आशंकित स्थानमा व्यापक निगरानी र तलासी गरे पनि फेला पर्न सकेनन् । सीआईबी स्रोतका अनुसार खड्का भारत छिर्न सफल भएका छन् ।
‘अनुसन्धान भइरहेकाले अहिले व्यक्ति किटान नगरौं’, सीआईबी प्रमुख डीआईजी पुष्कर कार्कीले भने, ‘सुन बरामद प्रकरणमा अभियुक्तहरू संगठित अपराधलगायत सम्भवतः सबै मुद्दामा तानिन्छन् ।’













