२६ माघ ०७४, काठमाडौं । करिव १६ वर्षअघि ठमेलमा भएको एक हत्याकाण्डका मुख्य अभियुक्तलाई भारतले पक्राउ गरेर नेपाललाई बुझाएको छ ।
शुक्रबार भारतीय प्रहरीले सुर्वण गुरुङ हत्याकाण्डका मुख्य अभियुक्त आतिनी भन्ने मुखिया गुरुङलाई पक्रेर नेपाल प्रहरीको इन्टरपोल शाखालाई बुझाएको हो । मुखिया गुरुङलाई पक्रनका निम्ति प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिस नै जारी गरेको थियो ।
२०५८ कार्तिक १८ गते ठमेलको डिस्कोमा १९ वर्षीय सुर्वण गुरुङको हत्याका मुख्य अभियुक्त मुखियालाई नेपाल वायु सेवा निगमको दिल्ली काठमाडौं उडानबाट नेपाल ल्याइएको हो । उनलाई काठमाडौं जिल्ला अदालतले १ पुस २०६४ मा जन्मकैदको सजाय सुनाएको थियो । उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिनेछ ।
मकाउमा लुकेर बसेका मुखिया २ महिनाअघि नेपाल आएका थिए । त्यसपछि भारत हुँदै थाइल्याण्ड जाने क्रममा भारतीय प्रहरीले उनलाई भारतको जयपुर विमानस्थलबाट पक्राउ गरेको थियो ।
भारतको दिल्ली स्थित पटियाला अदालतमा पेश गरिएका मुखियालाई अदालती आदेश बमोजिम नै भारतीय प्रहरीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर नेपाल प्रहरीको इन्टरपोल शाखालाई जिम्मा लगाएको थियो ।
नेपाल भारतबीच सुर्पुदगी सन्धी नभएपनि अदालती प्रक्रिया पुरा गरेर भारतमा समातिएका नेपाली अपराधी ल्याइएको यो पहिलो घटना हो । विमानस्थल अध्यागमन स्रोतका अनुसार भारतीय प्रहरीले कडा सुरक्षाका साथ मुखियालाई विमानस्थलको अध्यागमन कक्षसम्म ल्याएर नेपाल प्रहरीको जिम्मा लगाएको थियो ।













