राहत चामलका लागि सडक खन्दै सुत्केरी

बाजुरा । कपालमा सेतो फेटा, थकित अनुहार तैपनि मीठो हाँसो । बाजुरा स्वामीकार्तिक–३ वाईकी ३२ वर्षीया जौकला कठायत अहिले सुत्केरी छिन् ।

तर, जौकलालाई भने ३५ दिनको बच्चा काखमा च्यापेर सडकमा काम गरिरहेको देखिन्छ । सुत्केरीको बेला सडकमा काम गर्नुपर्दा पनि उनमा कुनै नैराश्यता देखिँदैन । बच्चा बोकेरै उनी काममा खटिरहेकी छन् । सुत्केरीका बेला पनि बच्चा बोकेर सडकमा काम गर्नु उनको रहर होइन, बाध्यता हो । काम नगरे भोकै बस्नुपर्छ । आजको राजधानी दैनिकमा निमेन्द्र शाहीले लेखेका छन् ।

IMG_0705-2

बाजुरा जिल्लाको स्वामीकार्तिक गाउँपालिका–४ मा नेपाल सरकारले खडेरीपीडितलाई राहतस्वरूप दिएको चामलबापत नाबलकसहित सडकमा काम गर्न आएकी जौकला कठायत बच्चालाई दूध खुवाउँदै । फोटो : निमेन्द्र शाही

सरकारले खडेरीपीडितलाई राहतस्वरूप दिएको चामल जिल्ला समन्वय समितिले काम गराएर दिन्छ । त्यही चामल पाउन उनले सडकमा काम गरेकी हुन् । घरमा हातमुख जोड्न अनाज नभएपछि सडकमा काम गर्नु उनको बाध्यता पनि हो ।

त्यसो त बाजुरामा पोषण र गर्भवतीको क्षेत्रमा काम गर्ने संघसंस्था नभएका होइनन् । ‘संस्थाका कर्मचारीले दिएका कुराले पेट भरिँदैन, घरमा काम गर्ने कोही छैन,’ जौकलाले गुनासो गरिन्, ‘त्यसैले खानेकुुरा जुटाउन पनि सुत्केरीका बेलासमेत काम गर्नुपर्ने बाध्यता छ ।’

सो गाउँमा पाँच वर्षदेखि खडेरी परेका कारण खेती लगाउन सकिएको छैन । आम्दानीको स्रोत पनि राम्रो छैन । नेपाल खाद्य संस्था र स्थानीय बजारबाट खाद्यान्न किनेर खानुपर्ने यहाँका वासिन्दाको बाध्यता छ । ‘घरका कोही पनि जागिरे छैनन्, खडेरीले खेतमा केही फल्दैन, काम नगरी पेट पाल्न सकिँदैन,’ जौकला भन्छिन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा. रूपचन्द्र विकका अनुसार, गर्भवती र सुत्केरी भएको समयमा काम गर्दा आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा हुन्छ । तैपनि, यहाँका महिला जोखिम मोलेरै काम गर्ने गर्छन् ।

‘सामान्य प्रसूति भएकी महिलाले कम्तीमा ६ महिना पूर्ण रूपमा आराम गर्नुपर्छ । आकस्मिक प्रसूति गराएका महिलाको योभन्दा बढी समय आराम गर्नुपर्छ,’ डा. विक भन्छन्, ‘तर यहाँका महिला खानका लागि संघर्ष गरिरहेका छन् ।’

गैरसरकारी संस्थाहरूले गर्भवती समयमा चारपटक खाना खानुपर्ने भनेर गाउँमा सिकाउने गरेका छन् । तर, संस्थाहरूको यो भनाइले उनीहरूमा आक्रोश मात्रै थप्ने गरेको छ । ‘घरमा भए पो त्यस्तो खाने, नभए कहाँबाट ल्याउने ? किन्नका लागि पनि रकम हुँदैन,’ सोही गाउँका देवीमान कठायतले भने ।

मानव विकास प्रतिवेदनअनुसार नेपालको सबभन्दा गरिब जिल्ला बाजुरामा बसोबास गर्ने १४ प्रतिशतको मृत्यु ४० वर्ष नपुग्दै हुन्छ । मानव विकास सूचकांकमा मात्रै नभई गरिबी सूचकांकमा समेत बाजुरा सबैभन्दा पुछारमै छ । गरिबी र मानव विकासमा पछौटेपनका कारण बालबालिका कुपोषणको चपेटामा परेका हुन् ।

जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार यहाँका ८८ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् । ७६ प्रतिशत बासिन्दा परम्परागत खेतीपातीमा आश्रित छन् । यस जिल्लामा बाह्रै महिना खान पुग्ने परिवार भने १० प्रतिशत मात्रै छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराको तथ्यांकअनुसार कुपोषित बालबालिकाको संख्या ७ सय ८५ रहेको छ । दुई महिनाको अवधिमा गरिएको नापतौलको सर्वेक्षण यस्तो देखाएको हो । जम्मा ४ हजार ३ सय ६८ जना बालबालिकाको नापतौल गर्दा जिल्लाभरि कुपोषित बालबालिकाको संख्या ७ सय ८५ रहेको भेटिएको छ ।

जिल्लामा पोषणको क्षेत्रमा काम गर्ने आधा दर्जन गैरसरकारी संस्था र सरकारी निकाय पनि उत्तिकै छन् । दुवैतिरबाट बर्सेनि करोडौं  रकम खर्च हुने गरेको छ । तर, महिला र बालबालिको अवस्था जहाँको त्यही छ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत