फोरम नेपाल र सद्भावना पार्टीबीच एकता

२६ जेठ ०७४, काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नेपाल सद्भावना पार्टीबीच एकता भएको छ ।

शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उपेन्द्र यादव नेतृत्वको फोरम र सरिता गिरी नेतृत्वको सद्भावना पार्टी औपचारिक रुपमा एकता भएको हो ।

पार्टी एकता कार्यक्रममा फोरम अध्यक्ष यादवले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नव–निर्वाचित सरकारले संविधान संशोधनको लागि गरेको वाचा तत्काल पुरा गर्नु पर्ने बताए ।

‘प्रधानमन्त्री देउवाले हामीसँग जुन प्रण गर्नुभएको छ, ती सबै बाचा पुरा गरेर आउने असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा जनसहभागिता बढाउने वातावरणको निर्माण गर्नुहुनेछ’ अध्यक्ष यादवले भने ।

त्यस्तै सद्भावना पार्टीकी अध्यक्ष सरिता गिरीले मधेसका जनता स्थानीय तह निर्वाचनको पक्षमा रहेको बताइन् ।

‘मधेशका जनता निर्वाचनको पक्षमा छन्, २० वर्षदेखि रिक्त रहेका स्थानीय तहमा जनताले आफ्ना अधिकार प्राप्त गर्ने यो सुनौलो मौका हो’  गिरीले भनिन्, ‘अर्कोतर्फ हामीले संविधान आलोचनात्मक रुपमा स्वीकार गरेका छौँ, यस संविधानलाई अभ्यासको माध्यमबाट नै स्विकार्यता बढाउनुपर्छ, केही प्रगतिशिल कुराहरु छन्, यस्ता कुरालाई संस्थागत गर्नुपर्छ।’

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत