खुल्ला पुस्तकको रुपमा काम गर्नेछु – केशव कुवँर

रुपन्देही । ने.क.पा.(माओवादी केन्द्र) रुपन्देहीका जिल्ला समिति सदस्य केशव कुवँर यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा रूपन्देही जिल्लाको दक्षिणी भागमा अवस्थित सिद्धार्थनगर नगरपालिका वडा नं. १ को वडा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दै छन् ।

बुवा जंग बहादुर कुवँर र आमा कुमारी कुवँरको कोखबाट गुल्मी जिल्लाको नयाँ गाउँ गा.वि.स. वडा नं. ६ मा जन्मिएका ३१ वर्षीय कुवँर लामो समयदेखि सिद्धार्थनगर नगरपालिका वडा नं. १ मा रही विकास निर्माण र सामाजिक क्षेत्रमा क्रियाशील रहेका छन् ।

प्रस्तुत छ, स्थानीय तहको निर्वाचनको सेरोफेरोमा कुवँरसँग पत्रकार रबिन्द्र प्रताप गुप्ताले गरेको कुराकानीको सम्पादित अंश :

यहाँको राजनीतिक यात्राको बारेमा बताइदिनुहोस न !
म विद्यार्थी आन्दोलनबाट राजनीति क्षेत्रमा प्रवेश गरेको छु । २०६० साल देखि म सक्रिय रुपमा राजनीतिमा लागेको हुँ । ने.क.पा. माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नयाँ गाउँ मावि, गुल्मीको इकाइ कमिटीबाट मेरो राजनीतिक यात्रा सुरु भएको हो । समाजमा रहेको अन्याय, अत्याचार र कुरीतिको विरुद्ध र अव्यवस्थित समाजलाई व्यवस्थित बनाउन नै म राजनीतिमा लागेको हुँ ।
म पार्टीको सिद्धार्थनगर सचिवालय सदस्य, जिल्ला समिति सदस्य र वाइसिएल सिद्धार्थनगर अध्यक्षको रुपमा जिम्मेवारी सम्हालिरहेको छु । साथै, राजनीति बाहेक म सामाजिक क्षेत्रमा समेत क्रियाशील छु ।

तपाई सिद्धार्थनगर नगरपालिका वडा नं. १ मा अध्यक्षको उम्मेदवार हुनुहुन्छ ? यहाँको उम्मेदवारी किन र के का लागि ?
सिद्धार्थनगर नगरपालिका वडा नं. १ का जनतालाई म एक्लै होइन हामी सबै एक हौं र सबै प्रकारका उत्पीडनलाई अन्त्य गर्न, वडा नं. १ मा विकासको सिस्टम (प्रणाली)लाई व्यवस्थित गर्न र आम जनसमुदाय युवा, वृद्धवृद्धा, बालबालिका र महिला सबैलाई समान अवसर दिन, स्वरोजगार निर्माण गर्न र प्रत्येक वडावासीको मौलिक अधिकारको रक्षा गर्न नै मैले अध्यक्षमा उम्मेदवारी दिएको छु ।

सिद्धार्थ नगरपालिकामा वडा नं. १ मा विशेष गरी कस्ता समस्याहरु छन ?
यस वडामा विशेष गरी अव्यवस्थित सडक, नाला, खानेपानीको समस्या छ । त्यसैगरी पार्किङको पनि समस्या छ । मुख्य गरी ठेला व्यवसायी र अन्य साना व्यवसायीहरुले व्यवस्थितरुपमा व्यापार व्यवसाय सञ्चालन गर्न पाएका छैनन् । त्यसैगरी वडाभित्र रहेका मठ–मन्दिर, मस्जिद, चर्च जस्ता धार्मिक स्थलहरुको संरक्षण र सम्वर्धन हुन सकेको छैनन् ।

तपाईले वडा अध्यक्षमा जित्नु भयो भने कस्तो बनाउने खाका कोर्नुभएको छ ?
मतदाताले मलाई वडा अध्यक्षमा जिताउनुभयो भने म वडाभित्र रहेका सम्पूर्ण भित्री सडकहरुलाई ३ वर्षभित्र कालोपत्रे गर्ने, बेलहीयादेखि भन्सार भित्र गएको नाला, नौडिहवा हुँदै डण्डासम्म निकासीको व्यवस्था, वडा भित्र शुद्ध खानेपानीको व्यवस्था, बेलहिया प्रवेशद्धारमा अत्याधुनिक परम्परागत शैलीको नेपाली संस्कृति झल्कने खालको पर्यटन सूचना केन्द्र, एयर कन्डिसन विश्राम घर, शौचालय निर्माण र पर्यटकको लागि दक्ष, योग्य र अनुशासित गाइडको व्यवस्था, डुवान समस्या समाधान गर्न वडाभित्रका सम्पूर्ण ढलको सरसफाइ र व्यवस्थापन गर्ने, वडाभित्र सस्तो तथा पैंचो पसलहरु सञ्चालन गर्ने, पुरातात्विक, धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक स्थलहरुको संरक्षण र विकास, नागरिकता, जन्मदर्ता, बसाइसराई आदिको व्यवस्थापनमा एकद्धार प्रणाली लागू गर्न पहल गर्ने, वडामा एउटा एम्बुलेन्स सञ्चालन गर्ने, सुख्खा बन्दरगाह र विशेष आर्थिक क्षेत्र (सेज)को सञ्चालनमा पहलकदमी लिने, वडा भित्रका मूलसडक र भित्री सडकमा पार्किङको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

तपाईको चुनाव जित्ने आधार के हो ?
अहिले देशमा माओवादी केन्द्रको जनलहर नै बढेको छ । देश र जनताको मुक्तिको लागि लड्ने देशको एक मात्र पार्टी माओवादी केन्द्र भएको कुरा वडा नं. १ का मतदाताहरुले राम्रोसँग बुझ्ेर पार्टीका उम्मेदवारहरुलाई विश्वास गर्नुभएको छ ।
त्यसैगरी म अहिलेसम्म पदीय जिम्मेवारीमा नरहे पनि जनताको काम गर्दै आएको छु । विकास निर्माणको कार्यहरु गर्दै आएको छु । जनताले अब नयाँ अनुहार विशेष गरी युवा उम्मेदवारलाई जनप्रतिनिधिको रुपमा हेर्न चाहनुभएको छ । म समाजमा जनतासँग भिजेको र सामाजिक उत्तरदायित्व बहन गर्नमा सदैव अग्रसर भएको र मधेशी, दलित जनजाति, मुस्लिम समुदायको अधिकारको लागि सदैव आवाज उठाइरहेको कुरा नै मेरो चुनाव जित्ने आधार हो ।

अन्त्यमा तपाईले आफ्ना वडाका मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?
अन्त्यमा, म सिद्धार्थनगर नगरपालिका वडा नं. १ का सम्पूर्ण मतदाताहहरुलाई आफ्नो हक अधिकार सुनिश्चित गर्न र विभेदको अन्त्य गर्नको लागि मलाई मतदान गर्नको अनुरोध गर्दछु । म जतिसुकै बेला पनि जनताको काममा नै सक्रिय भएर लागेको कुरा सबै माझ सर्वविदितै छ । जुन तरिकाले मैले आफ्नो प्रतिवद्धता पत्र पेश गरेको छु त्यही अनुसारका कामहरु नै म निर्वाचित भएपछि गर्ने वाचा गर्दछु । साथै, सबैलाई समेटेर खुल्ला पुस्तकको रुपमा काम गर्नेछु । देशको उर्जाशील शक्ति युवा नै भएकाले विकासको प्रत्याभुति गर्नका र विभेदको अन्त्य गर्नका निम्ति गोलाकार भित्रको हँसिया हथौडा चिन्हमा मतदान गरी विजयी बनाइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत