हामीलार्इ कसले दिन्छ आड ?

३ असार ०७४, काठमाडौं । भूकम्पपीडित भए पनि सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१०, बडघरेका तीन भाइसँग’भूकम्पपीडित परिचयपत्र’ छैन ।

परिचयपत्र नभएकैले गाउँका सबैजसो भूकम्पपीडितले सरकारसँग तीन लाख रुपैयाँको अनुदान सम्झौता गर्दा पनि यी तीन भाइ भने अछूतो रहे ।

कारण थियो, लालपुर्जा नहुनु । आफूसँग भएको जमिन एक दशकअगाडि ऋण तिर्न नसकेर बेच्नु परेपछि यी तीन भाइ भूमिहीन भएका छन् ।

जसलाई जमिन बेचे उसैले बाँचुन्जेल बास बस्नका लागि दिएको ठाउँमा बसिरहेका यी अब केवल सरकारको दयाको आशमा छन् ।

‘हामीलाई सरकारले दयामायाले दिनुभयो भने हात थापौंला, होइन तेरो केही छैन पाउँदैनस् भने चुप लागेर बसौंला । अब कति बाँचिएला र ? जति बाँचिन्छ यही छाप्रोमा कटाऊँला । भाग्यमा नभएको सुख खोजेरमात्र कहाँ भयो र ?’, तीनमध्येका कान्छा बलराम श्रेष्ठ भन्छन् ।

यो कथा हो ९१ वर्षीय खड्क श्रेष्ठ, ८४ वर्षीय तुलसीदास श्रेष्ठ र ८१ वर्षीय बलराम श्रेष्ठको । कुनै बेला पाँच पाण्डवजस्तै पाँच भाइ थिए यी । जेठा र माइला दाजु उमेरमै बिहे गरेर बुटवल गएछन् । बिहे गरेका दाजुहरूसँग सम्बन्ध टाढियो । आफन्त पनि बाँकी रहेनन् । दाजुहरूको बिहेपछि सम्बन्ध तोडिएको घटनाले विक्षिप्त तीनै भाइले बिहे गर्ने आँट गरेनछन् ।

शैशवकालदेखि सँगै बसेका यी तीन वृद्धसँग अहिले आफूहरूबाहेक आडभरोसा केही पनि छैन । आम्दानीको स्रोतका रूपमा छ- पाँच गाई र एक बाख्रा । अनि छ हावाहुरी नछेक्ने, पानी नओत्ने मात्र टाउको लुकाउने टिनैटिनको एउटा छाप्रो, त्यो पनि विभिन्न संघसंस्थाले बनाइदिएको । घर थियो भूकम्पले लगिदियो । एक हल मेलोको जमिन थियो ऋणले खाइदियो । केवल बाँकी छ गलेको शरीर, थाकेको नजर केही झिना आशा । तैपनि हिम्मत हारेका छैनन् । बूढो भइयो भनेर कुँजिएर बसेका पनि छैनन् ।

खड्क रोग र उमेरले थलिएका छन् । बसेको ठाउँबाट उठ्न सक्दैनन् । तुलसीदास र बलराम भने जीवन धान्ने मेसो गरिरहेछन् ।

 

भूकम्पपश्चात् गाउँमा विभिन्न संघसंस्था आए । तिनले दिएका सामान राहतमार्फत लिए यी दाजुभाइले पनि । सरकारले भूकम्पलगत्तै दिएको पन्ध्र हजार र जाडोमा दिएको १० हजार रुपैयाँ लिएका थिए । यत्ति नै हो सरकारबाट अहिलेसम्म उनीहरूले पाएको सहयोग ।

योबाहेक कुनै लाभ कसैबाट लिएको छैन यो परिवारले । लाभ लिने आशा पनि नभएको बताउँछन् यी । उमेरले डाँडा काटिसक्यो । दुईचार बाख्रा बेचेर, सामान्य खेतीपाती बेचेर गुजारा गर्दै आएको श्रेष्ठ परिवार अहिले चरम संकटमा छ ।

सरकारले दिने भत्ता र एक हल खेतीबाट आउने आम्दानीले टिकाएको छ यो परिवारलाई । सरकारले लालपुर्जा हुनेसँग अनुदान सम्झौता गर्‍यो । श्रेष्ठ परिवार र यीजस्ता अरूभने आवश्यक कागजात जुटाउन नसक्दा छुटेका छन् । घरधुरी नहुनु, लालपुर्जा नहुनु गरिबीको दोष भन्न सकिएला तर गरिबीकै कारण पुनर्निर्माणको अनुदान सम्झौता गर्न नपाउनु सरकारको दोष हो ।

स्थानीय तहको निर्वाचन भयो । नेताहरू पटकपटक श्रेष्ठ परिवारको घरमा पुगे निहित स्वार्थ बोकेर । तीन दाजुभाइको भोटबाहेक नेताले त्यहाँ थप केही देखेनन् । जसोतसो आफ्नो पकडमा पार्न सफल भए नेता । भोटको दिन गाडी लिएर मतदान केन्द्रसम्म लाने, लैजाने नेताज्यूहरू, बिरामी हुँदा, दुःख पर्दा मुन्टो बटारेर हिँड्ने गर्छन् ।

तुलसीदास श्रेष्ठ भन्छन्,’सबैले भोटमात्रै हेरे, हाम्रा लागि कसैले बोलेनन् । हाम्रो पीडा कसैले सुनेनन् । गाउँमा धेरै रूप भएका मान्छे आए तर असल मन भएको कोही भेट्टिएन ।’

उनी थप्छन्,’एउटा सानो घर जहाँ जिन्दगी कटाउन सकूँ, घामपानीको डर नहोस्, हावाहुरीको डर नहोस् । बस्, यति भए जिन्दगी खुसीखुसी बित्थ्योजस्तो लाग्छ । तर कहाँबाट पाउनु कसले दिने ?’ अाजकाे अन्नपूर्ण पाेष्टमा छापिएकाे छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत