निर्वाचन प्रचार गर्ने समय सकियाे : आचारसंहिता तोडिए कार्वाही

१२ असार ०७४, काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रचार प्रसार गर्ने समय सकिएको छ ।

मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखिको अवधिलाई निर्वाचन आयोगले मौन अवधि भनेको छ ।

मौन अवधिको यो आचारसंहिता तोडिएमा निर्वाचन आयोगले सम्बन्धित उम्मेदवारलाई कारवाही गर्ने बताएकाे छ ।

मौन अवधिमा के के गर्न हुँदैन ?

निर्वाचन आयोगले जारी गरेको आचारसंहित अनुसार मौन अवधिमा निर्वाचन प्रचार–प्रसार गर्न र मत माग्न पाइँदैन ।

मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाउनुपर्छ ।

उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अंकित पहिरन, टोपी, स्टीकर, लोगो, झोला, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गन पाइँदैन ।

चुनाव चिन्ह अंकित सामाग्रीहरु बिक्री गर्न वा प्रदर्शन गर्न समेत पाइँदैन ।

उम्मेदवार वा राजनीतिक दलको प्रचार–प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।

मौन अवधिको नियम तोडे कारवाही 

मौन अवधिको आचारसंहिता तोडेको प्रमाणित भएमा सम्बन्धित उम्मेदवारको उम्मेदवारी रद्द गर्नेदेखि १ लाख रुपैयाँसम्म जारिवाना गर्न सक्ने व्यवस्था निर्वाचन आयोग सम्बन्धी कानुन ०७३ मा उल्लेख छ ।

निर्वाचन आयोगको टोलीले जाँचबुझ वा अनुगमन गर्दा कसैबाट आचारसंहिता पालना नभएको वा उल्लङ्घन भएको देखिएमा तुरुन्त रौक्न आदेश दिनेछ ।

 

यसरी उम्मेदवारी रद्द गर्नु अघि सम्बन्धित उम्मेदवारलाई सफाइको उचित मौका दिनुपर्नेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत