२५ असार ०७४, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलन नभएको भए महिला, दलित, जनजाति, मधेसीलगायतका अल्पसङ्ख्यक समुदाय राज्यको विभिन्न स्थानमा स्थापित भएको बताएका छन् ।

बहराइनका लागि नेपाली राजदूतमा पद्म सुन्दासलाई नियुक्त गरेकोमा अध्यक्ष दाहाललाई अभिनन्दन गर्न परियार सेवा समाजले आयोजना गरेको कार्यक्रममा प्रचण्डले माओवादी पार्टी र आन्दोलनका कारण अल्पसङ्ख्यक समुदाय राज्यको विभिन्न स्थानमा स्थापित भएको बताएका हुन् ।

‘पुरानो समाज र राजनीतिक दल दलित, महिला, जनजाति, मधेसीलगायतका उत्पीडितलाई मान्छे नै नमान्ने प्रचलन थियो’ प्रचण्डले भने, ‘माओवादीले उत्पीडितको अधिकारको कुरा गर्दा निकै ठूलो विरोध गरियो, माओवादीले जनयुद्ध नलडेको र उत्पीडितको पक्षमा सङ्घर्ष नगरेको भए क्षमता भएर पनि उनीहरु राज्यको नीति निर्माणको अधिकारबाट विमुख हुन्थे ।’

समाजमा यति ठूलो परिवर्तन भइसक्दा पनि राज्य र राज्य संयन्त्र दलितप्रति सकारात्मक हुन नसकेकाे भन्दै उनले त्यसलाई अझै सकारात्मक दबाबले सही मार्गमा ल्याउनुपर्नेमा जोड दिए । साथै, पद्म सुन्दास राजदूत बन्नु पनि माअाेवादी पार्टीको उत्पीडित जाति र समुदायप्रतिको प्रतिबद्धताको प्रतिफल भएको बताए ।

सो अवसरमा परियार सेवा समाजका अगुवाले नेपालमा गणतन्त्र स्थापना गर्न, समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्न, दलितलगायतका उत्पीडित जाति र समुदायलाई नीति निर्माणको तहमा लैजान विशेष भूमिका खेलेको भन्दै अध्यक्ष दाहाललाई अभिनन्दन गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत