राजधानीका विभिन्न क्षेत्रमा आज र भोली लोडसेडिङ हुने

३१ असार ०७४, काठमाडौं । राजधानीका विभिन्न क्षेत्रमा आज र भोली लोडसेडिङ हुने भएको छ ।

प्राधिकरणका अनुसार चाबहिल लगायतका क्षेत्रमा दुई दिनसम्म सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाका कारण खम्बा सार्नुपर्ने भएकाले  लोडसेडिङ हुने भएको हो ।

नेपाल विद्युत् प्राधिकरण भारसम्प्रेषण केन्द्रका अनुसार सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप जडान कार्य गर्नुपर्ने भएकाले विद्युतभार कटौती गर्न लागिएको हो ।

केन्द्रका अनुसार नयाँ चाबहिल सव स्टेशनबाट वितरण गरिएको सुन्दरीजल फिडरअन्तर्गत पर्ने गोपीकृष्ण हल, सरस्वती नगरलगायतका क्षेत्रमा दैनिक दुईदेखि तीन घण्टा विद्युत् कटौती हुनेछ । यस्तै राजधानीका अन्य क्षेत्रमा समेत मेलम्ची खानेपानी आयोजनाको पाइप विस्तारका कारण सामान्य रुपमा अवरोध आउनसक्ने प्राधिकरणले जनाएको छ ।

काठमाडौँको बानेश्वर सव स्टेशनको क्षमता वृद्धि गर्ने कार्य जारी रहेका कारण बागमती, धोवीखोला क्षेत्र, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, शङखमूल क्षेत्र, बानेश्वर कोटेश्वर र इमाडोल क्षेत्रमा समेत फरक–फरक समयमा दैनिक चार घण्टा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ । पुग्दो मात्रामा विद्युत् उपलब्ध भइरहेको भए पनि सव स्टेशनको क्षमता वृद्धि तथा प्रसारण लाइन सुधार गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्नुपरेको प्राधिकरणले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत