क्रान्तिकारीको भदौ ७ गतेदेखि राष्ट्रिय सम्मेलन गर्ने

१३ साउन ०७४, काठमाडौं । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को आगामी भदौ ७ गतेदेखि काठमाडौंमा राष्ट्रिय सम्मेलन हुने भएको छ ।

अखिल क्रान्तिकारी पदाधिकारीको  बसेको बैठकले भदौ ७ देखि ११ गतेसम्म एकताको २१औं राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो । स्ववियु निर्वाचन लगायत कारण देखाउँदै पटक पटक सर्दै आएको सम्मेलन द्रुतमार्गबाट गरिन लागेको अध्यक्ष नरेन्द्र न्यौपानेले शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ ।

बैठकले सम्मेलन तयारीका लागि क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्लको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति र विभिन्न उपसमितिहरु समेत गठन गरेको छ । प्रतिवेदन लेखन, व्यवस्थापन र आर्थिक उपसमिति संयोजकमा अध्यक्ष नरेन्द्र न्यौपाने, प्रचार-प्रसार उपसमितिमा उपाध्यक्ष एवं प्रवक्ता सुरेन्द्र बस्नेत, कार्यालय व्यवस्थापन/तथ्यांक संकलन/विधान संशोधन उपसमिति संयोजकमा महासचिव वीरेन्द्र बस्नेत रहेका छन् भने स्वयंसेवक उपसमिति संयोजकको जिम्मेवारी सचिव दिपेश पुनलाई दिइएको छ ।

सम्मेलनमा प्रतिनिधि यही साउन २८ गते देशैभर एकैदिन चयन गरिने छ । प्रतिनिधि चयनका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकिएको क्रान्तिकारीले बताएको छ । सम्मेलनमा दुई हजारभन्दा बढी प्रतिनिधिले भाग लिनेछन् ।

माउ पार्टीले केन्द्रीय समितिको संख्या सानो आकारको बनाउने निर्णयसँगै क्रान्तिकारीले पनि १ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ । समावेशी, समानुपातिक, प्रदेश र क्षेत्रको प्रतिनिधित्वको आधारमा १ अध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र १ कोषाध्यक्ष गरी २५ पदाधिकारी सम्मेलनबाट निर्वाचित हुने कार्यविधि पारित गरिएको छ ।

बुधबार बसेको पदाधिकारी बैठकमा मा‌ओवादी केन्द्रका कार्यालय सदस्य एवं संगठन विभाग प्रमुख रामबहादुर थापा, विद्यार्थी फ्याक्सन इञ्चार्ज हितमान शाक्यको समेत उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत