माओवादी केन्द्रले शीर्ष नेताहरुलाई प्रदेश नं. २ को स्थानीय तह चुनावी अभियानमा खटाउने

१८ साउन ०७४, काठमाडौं । असोज २ गते हुने प्रदेश नं. २ को स्थानीय तह चुनावमा माओवादी केन्द्रले पार्टीका शीर्ष नेताहरुलाई खटाउने निर्णय गरेको छ ।

बुधबार दिउँसो पार्टी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बसेको कार्यालय बैठकले  शीर्ष नेताहरुलाई नै चुनावी अभियानमा खटाउने निर्णय गरेको हो ।

कार्यालय बैठकले प्रचण्डलाई सिराहा, केन्द्रीय कार्यालयका नेताहरु नारायणकाजी श्रेष्ठलाई सर्लाही, रामबहादुर थापा ‘बादल’लाई धनुषा, हरिबोल गजुरेललाई रौतहट, दीनानाथ शर्मालाई पर्सा, चक्रपाणि खनाल ‘बलदेव’लाई सप्तरी, डिलाराम आचार्यलाई बारा र विश्वभक्त दुलाललाई महोत्तरी जिल्लामा खटाउने निर्णय गरेको हो ।

बैठकले ७ वटै प्रदेशहरुमा राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरुलाई सहभागी गराई पार्टी प्रशिक्षण सञ्चालन गर्ने र प्रदेश स्तरीय बैठक सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

बैठकले प्रादेशिक र संघीय निर्वाचनका लागि केन्द्रीय कार्यालयका सदस्यहरुको कार्यविभाजन समेत गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत