नेपाली मुलका विहारीको कथा : यो मन त मेरो नेपाली हो

काठमाडौं । बिहार राज्यको मधुवनी जिल्ला अन्तर्गत खुटौना सहर प्रवेशद्वारमै सडकको दुबैतर्फ(पूर्व–पश्चिम) हरियो रंगको वोर्डमा सेतो अक्षरले लेखिएको छ– ‘पहाडी टोला’। भारतीय सहरमा ‘पहाडी टोला’ लेखिएको यो बोर्डले यहाँ पुग्ने जोकोहीलाई कौतुहल बनाउँछ ।

खुटौना–१५, पहाडी टोला लेखिएको बोर्डको पूर्वपट्टी ४५ घर परिवार नेपालीभाषीको ठूलै बस्ती छ । उनीहरु सवै मंगोल समुदायका नेपाली हुन् । करिब अढाई सय वर्षदेखि उनीहरु यही ठाउँमा बस्दै आएको बताउँछन् । आफूहरु बसेको ठाउँ पहिला जंगल रहेको उनीहरु बताउँछन् । जंगल फाँडेर पुर्खाहरुले बासस्थान बनाए । जमिन बनाएर छाप्रो हाले । छाप्रो  हालेको घरको डिहि बाहेक उनीहरुसँग नम्बरी जमिन नभएको आजको नागरिकमा समाचार छ ।

खुटौनाका स्थानीय ब्यापारी रामबाबु साह भन्छन्,‘पहाडी टोलाका नेपालीहरुको तीन पुस्ताबढी समय देखि यहाँ बस्दै आएको हामीलाई जानकारी छ । यहाँ बस्ती बसाल्ने पहाडीहरु नै भएकोले यो बस्तीको नाम पहाडी टोला राखिएको स्थानीय दिपक गुरुङले भने । ‘हामी त नेपाली नै हौं’ उनले भने,‘अंग्रेजहरुले त्यो बेला धकेलेर सीमा लौकाहासम्म पुर्‍याउँदा हामी भारतीय नागरिक हुन पुग्यौ ।’ ‘पहिला नेपाली सीमा मंगेरसम्मै थियो’. उनले भने,‘हामी ज्यूँ का त्यूँ छौं, सीमा धकेलिएर हाम्रो नागरिक पहिचान बदलिएको हो ।’

‘यहाँको रैथाने बासिन्दा हामी नै हौं दिपक भन्छन्,‘पछि बजार विस्तार हुँदै जादा बस्ती विस्तार हुँदै गयो।’ यहाँका रैथाने पहाडी भएकोले बस्तीको नाम नै पहाडी टोला राखिएको उनले बताए । उनीहरुको थर राई, गुरुङ, मगर, भएपनि लवज, भाषा, पहिरन, रहनसहन पहाडी जस्तो छैन । यो बस्तीका नयाँ पुस्ता त नेपाली भाषा बोल्ने परको कुरा बुझ्दापनि बुझ्दैनन् । हिन्दी र स्थानीय भाषा बोल्ने नेपाली भाषा बोल्ने अभ्यास नहुँदा बिर्सिएको बताउँछन् ।  उनीहरुको मुख्य पेशा भने बाँसको सामाग्री नाङ्लो बनाउनु हो । यो बस्तीको नाङ्लो भारतको बिहार, दिल्ली, पंन्जाब प्रान्तसम्मको बजारमा पुग्छ । नाङ्लो बेच्न उनीहरुलाई कतै जानु पर्दैन । ब्यापारीहरु बस्तीमै आईपुगेर नाङ्लो किनेर लान्छन् ।

हामीलाई नाङ्लो बेच्न बजार बजार भौतारीनुपर्ने झन्झट छैन बस्तीकी सीता पहाडी भन्छिन्,‘घरमै आएर व्यपारीहरु प्रति गोटा १५० हालेर नाङ्लो लिएर जान्छन् ।’ बस्तीका जेष्ठ नागरिक हिरालाल मुखिया(६५) आफूहरुको पुर्खयौली पेशा नै नाङ्लो बनाउने भएको बताए । पुर्खाहरु पनि यही पेशा गरेर जीन्दगी धाने उनले भने,‘हामीले पनि यही गर्यौ, हाम्रो सन्तानले पनि यही पेशामा रमाएका छन् ।’

पहाडी टोलाका अगुवा सन्त बाहादुर मगर हुन् । उनी भन्छन्,‘ सीमा धकेलिएर हाम्रो नागरिक परिचय फेरिएपनि मन त मेरो नेपाली नै हो ।’ ‘नेपालको सीमा मुंगेरसम्म हुँदा हाम्रो पुर्खाको नागरिक परिचय नेपाली थियो उनले भने,‘त्यही सीमा धकेलिएर लौकाहासम्म खुम्चिँदा हामी भारतीय भयौं ।’

मगरका अनुसार यो पहाडी टोलामा पहिला सय भन्दा बढी घर नेपालीहरुको बसोवास थियो । पछि केहि नेपालीहरु नेपालमै फर्किए । अहिले ४५ घर नेपाली(पहाडी) हरुको बसोवास छ । बस्तीका बिनोद पहाडी भन्छन्,‘राई, मगर ,गुरुङ्ग जातीहरुको नयाँ पुस्ताहरु थर ‘पहाडी’ राख्न थालेका छन् । बिनोदका अनुसार यो बस्तीका मानिसले पुस्तै पिच्छे थर परिवर्तन गर्दै छन् । पुर्खाहरुले  पर्वतीया थर लेखाउँथे । त्यपछिका पुस्ताले मुखिया थर लेखाउन थाले। पछि माझी हुँदै अहिले पहाडी थर लेखाउँछन् बस्तीका मानिसहरु ।

थर परिवर्न गरी पहाडी लेखाउनुको पछाडी पनि उनीहरुको बाध्यता छ। गुरुङ्ग, माझी, मगर भन्दा यहाँका मानिसलाई जाती बुझाउन गाह्रो भएकोले थर परिवर्तन गरी पहाडी लेखाउन थालेको मिथिला युनिभरसिटी दरभंगामा एमकम अध्यनरत बस्तीका शिवकुमारले बताए। आफूलाई नेपाली बुझाउन ‘पहाडी’ थर राखे पुग्छ, उनले सुनाए।  यहाँका नागरिक देखि सरकारी अधिकारीले पनि पहाडी भनेपछि सजिलै नेपाली हो बुझिहाल्छन, उनले भने। पहाडी थर लेखाएर आफूहरुमा नेपालीपन जीवित रहेको देखाएका छन्, उनीहरु। तर, पहाडी भएर यहाँ जीन्दगी जिउन त्यतीको सजिलो भने छैन । सन्त बहादुरका अनुसार आफुहरुलाई नागरिकता लिन आन्दोलन नै गर्नुपरेको सुनाए। नागरिकताका लागि प्रकृया सुरु गर्दा अनुहार हेरेर नेपालीलाई कहाँ नागरिकता दिन मिल्छ भन्दै कतीपटक अधिकारीले फाईल फ्याकेको उनीसँग तितो अनुभूती छ। नागरिकताका लागि बस्तीका सबैजना मिलेर आन्दोलन गरे। यहाँको डिएम कार्यालय घेराउ गरेर जमिनको प्रमाण पेस गरेर नागरिकता माग गरे। आन्दोलनपछि मात्र हामीलाई राज्य सरकारले आदिवासीको सूचीमा सूचीकृत गरेर पहिचानपत्र दिएको सन्त बहादुरले बताए। आदिवासी सूचीमा सूचीकृत भएपनि उनीहरु आरक्षीतको सुविधाबाट बञ्चित रहेको गुनासो सुनाए। हामीले आरक्षणको आभाष नै पाएका छैनौ शिव मुखियाले भने,‘बस्तीका कसैलेपनि सरकारी सेवा (जागीर)पाएका छैनन्।’

सन् २०११ मा भएको स्थानीय निर्वाचनमा खुटौना–१५ को बडा अध्यक्ष पदमा पहाडी टोलाका समर बहादुरले आफ्नो छोरा रोहितलाई उम्मेदवार उठाए। चुनावी दौडमा उनी पछाडिए। तर, उनको उम्मेदवारीको चर्चा उनीसँग जीतेका उम्मेदबार भन्दा बढी भयो। नेपालीले पनि यहाँ चुनाव लडे भनेर खुबै प्रचार भयो।

पहिचान पत्रको आधारमा पहाडी टोलका स्थानीय परिवारले राज्य सरकारबाट महिनाको १० किलो चामल, ५ लिटर तेल, १२ किलो गहुँ पाउँछन् । स्थानीय युवक जीवनका अनुसार पहिचानपत्र पाएकाहरुका लागि राज्यबाट पाउने सुविधा राम्रो छ । तर, पुर्खौली थलो नेपाललाई मनबाट मेटाउन सकिन्न उनले भने,‘हामी जुन भूमीमा बसेपनि मन त मेरो नेपाली हो ।’ कहिलेकाँही घुमफिर गर्न नेपाल जाँदा आफ्नोपन महसुस गर्छौ, उनले सुनाए ।

भारतीय भूमीमा बस्दै आएपनि पहाडी टोलका अधिकत्तरको विवाह नेपाली भूमीमा भएको छ । स्थानीय वीरबादुर पहडीका अनुसार भारतीय सहर सुपौल र झँझारपुरमा पनि नेपालीहरुको बस्ती छ । तर, यहाँ केटी पाउन गाह्रो पर्छ । केटा सजिलै पाउने भएकोले हामी छोरीहरुको विवाह भारतीय भूमीमै गर्छौ तर, छोराको विवाह नेपाली भूमीमै गर्छौ’, उनले भने ।

नेपाली भूमीमा छोरा विहे गर्दा नेपालकै नागरिकता बनाउन सजिलो हुने भएकोले उनीहरु नेपाली छोरी विवाह गर्न रुचाउँछन्। नेपाली नागरिकताबाट राहदानी बनाएर वैदेशिक रोजगारमा जान उनीहरु नेपाली छोरी ताक्छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत