१० बुँदे घोषणा पत्र जारी गर्दै बौद्ध सम्मेलन समापन

१६ बैशाख ०७५, रुपन्देही । लुम्बिनीमा दुई दिनदेखि जारी बौद्ध सम्मेलन १० बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ ।

आइतबार सम्मेलनको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । २ दिने सम्मेलनले लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थल र बुद्धधर्म विश्वशान्तिको मुहानको रुपमा स्वीकार गर्ने निर्णय समेत गरेको छ ।

सम्मेलनका विभिन्न २३ मुलुकका बौद्ध भिक्षु, धर्मगुरूहरू सहभागी थिए । भगवान् बुद्धको जन्मस्थल, बुद्ध धर्म र विश्व शान्तिको मुहानलाई स्वीकार गर्दै प्रवद्र्धन गर्ने प्रतिबद्धता गरेको छ ।

सम्मेलनलाई एक समारोहका बीच समापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभइ बुद्ध धर्मको उद्गम थलो भएको सम्मेलनले पुष्टि गरेको बताए ।

प्रधानमन्त्री ओलीले लुम्बिनी गुरुयोजना समयमै पूरा गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख समेत गरेका छन् ।

लुम्बिनी घोषणापत्र–२०१८ यस्तो रहेको छ ।

१. सन् २०१६ मा घोषणा गरिएको लुम्बिनी घोषणापत्रमा उल्लिेखित लुम्बिनी नेपाललाई भगवान बुद्धको जन्मस्थल र बौद्धधर्म र विश्वशान्तिको मुहानलाई विश्वरुपमा प्रवर्द्धन गर्ने ।

२. केन्जो टागेंद्वारा डिजाइन गरिएको लम्बिनी गुरुयोजनालाई शान्ति र मावनताको विश्वकेन्द्रको रुपमा सम्पन्न गर्ने ।

३. अन्तरआस्था, संवादको प्रवर्द्धन गर्न र विश्व बौद्ध समुदायलाई एकीकृत गर्न, एसियामा बढ्दो जातीय हिंसा र यसलाई बौद्ध मार्गबाट समाधान गर्नको निम्ती एक भइ काम गर्ने ।

४. लुम्बिनीमा शान्ति र द्वन्द्वको निरुपणको लागि अन्तराष्टिय केन्द्र स्थापना गर्ने ।

५. लुम्बिनीलाई एसियाको बृहत्तर तीर्थस्थलको सर्किटको रुपमा स्थापना गरी भारतको बोधगया, सारनाथ, कुशीनगर र श्रीलंका म्यानमार, बंगलादेश, चीन र पाकिस्ताको बौद्ध सम्पदाहरुलाई प्रवर्द्धन गर्ने ।

६. बृहत्तर लुम्बिनीको पुरातात्विक, संस्कृतिक र प्राकृतिक सम्पदाहरुलाई एकीकृतरुपमा व्यवस्थापन गरी संरक्षण गर्ने ।

७. बृहत्तर लम्बिनीको वातावरणको संरक्षण गर्न र सबै किसिमका प्रदुषणको स्रोतको अनुगमन र नियन्त्रण गर्ने ।

८. कपिलवस्तु (बुद्ध र शाक्यको मातृभूमि), देवदह (महारानी मायादेवीको माइतीघर), रामग्राम (बुद्धको अस्तुधातु भएको स्थल) हरुको बृहत् महत्वलाई हृदयंगम गर्दै सबै बौद्धमार्गी र संसारका शान्तिप्रिय जनतालाई बुद्धिस्ट सर्किट अन्तर्गतको रुपमा एकीकृत बृहत् लुम्बिनी गुरु योजनाको रुपमा निर्माण गर्ने ।

९. बौद्ध शिक्षाको लागि लुम्बिनीलाई विश्व केन्द्रको रुपमा विकास गर्ने ।

१०. लुम्बिनी घोषणापत्र २०१६ लाई कार्यान्वयन गर्दै विश्व बौद्धिष्ट मञ्चको स्थापना गरी बुद्ध परम्पराहरुको सञ्जालको लागि शुभारम्भ गर्ने ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत