नयाँ भवन प्रयोगमा नआउँदै चुहिने : महत्वपूर्ण कागजपत्रहरु कुहिएर वर्वाद

 

१८ बैशाख ०७५, राजविराज । एकातर्फ जीर्ण भवनभित्र सप्तरी जिल्लाको मिसिलसहित महत्वपूर्ण कागजपत्रहरु कुहिएर वर्वाद भइरहेको छ भने अर्कोतर्फ नयाँ भवन सञ्चालनमा नआउँदै चुहिन थालेको छ ।

मालपोत कार्यालयको तामेली भवनको छत जीर्ण भएर पानी चुहिने भएपछि २००४ सालयताका जग्गाको रेकर्ड तथा मिसिल फाइलहरु कुहिएर बर्वाद हुने अवस्थामा पुगेको छ ।

मालपोत कार्यालयका तत्कालिन प्रमुख सरयुग दासको कार्यकालमा भूमि सुधार तथा व्यवस्था विभागको २०६७ जेठ ३१ को निर्णय अनुसार हाल तामेली भण्डारण गरिएको भवनसहितको २ कठ्ठा १ धुर जग्गा जिल्ला अदालतलाई हस्तान्तरण गरिएको थियो ।

शर्त अनुसार जिल्ला अदालतले तामेली भण्डार निर्माणका लागि ४६ लाख रुपैयाँ उपलब्ध गराएको छ । उक्त रकमबाट मालपोत कार्यालयको तेस्रो तलामा तामेली भण्डार निर्माणको काम ठेक्का लगाइएको थियो ।

अदालतले हाल जीर्ण भवन समेत खाली गर्न पटक–पटक ताकेदा गर्न थालेपछि तामेली फाँटमा रहेको जिल्लाभरिकै जग्गाको रेकर्ड कहाँ लैजाने भनी अन्यौलमा परेको फाँटका सोमन यादवले बताए । यादवकाअनुसार वर्षा लाग्नु अगावै वैकल्पिक व्यवस्था नगरे पानी चुहिएर मिसिलहरु नष्ट हुनसक्ने खतरा बढेको छ ।

नयाँ भण्डार तयार नभएको र पुरानो भवन पनि भण्डारणका लागि उपयुक्त नभएकाले तामेली संरक्षणको चुनौती बढेको यादवले बताए ।

मालपोत कार्यालयको तामेलीमा २००४ सालदेखिका करिब ५ लाखभन्दा बढी मिसिल रहेको छ । तर, भवनमा पानी चुहिएर १० प्रतिशतभन्दा बढी लिखत च्यातिएको र सढेर नष्ट भएको कर्मचारी सोमनले जानकारी दिए ।

‘कार्यालयमा जग्गाको मिसिल खोज्न दैनिकजसो १०–२० जना आउने गर्छन’ कर्मचारी सोमनले भने, ‘कागज खोज्दै दिन बित्छ तर कतिपय कागजको टुक्राटुक्री पनि फेला पर्दैन, कुहिएर बर्वाद भइसकेको छ ।’

कागज भण्डारणकालागि अँध्यारो एवम् पानी नचुहिने सुरक्षित कक्ष हुनुपर्नेमा पानी चुहिने जीर्ण भवनबाट मिसिलहरु नसारिए भएका कागजपत्रहरु समेत बर्वाद हुने भएकाले सुरक्षित स्थानमा सारिनुपर्ने उनले बताए ।

२०२८ सालको मिसिल खोज्न लगातार तामेली भवन धाउने गरेकोमा हालसम्म कागज फेला नपरेको राजविराज–४ का मौलेश्वर प्रसाद सिंहले सञ्चारकर्मी समक्ष गुनासो गरे ।

यता भवनको अभावमा मालपोत कार्यालयको तामेली फाँटमा रहेका करिब ५ लाख भन्दा बढी मिसिल नष्ट हुन लागेको छ भने अर्कोतर्फ ठेकेदारको लापर्वाहीले नयाँ भवन हस्तान्तरण नहुँदै पानी चुहिन थालेको छ ।

मालपोत कार्यालयको तेस्रो तलामा निर्माणाधीन ११ कोठे तामेली भण्डार भवन निर्माणको ठेक्का गहिल सन्स कम्पनी लिमिटेड राजविराजले लिएको छ । कुल २८ लाख ८८ हजार ७ सय ७० रुपैयाँमा ठेक्का लागेको भवन निर्माणका लागि २०७१ असोज २० मा सम्झौता भएको थियो । २०७२ भदौ १९ मा काम सकेर मालपोत कार्यालयलाई हस्तान्तरण गर्नुपर्नेमा अझैं भवनको काम पुरा हुन सकेको छैन ।

भवनमा लगाइएको टिनको केही पाता समेत हावाले उडाएको तथा जडान गरिएको प्लाई पनि गुणस्तरहीन भएका कारण ठाउँ ठाउँमा उप्केको छ । भवन समेत ठाउँ ठाउँमा चर्किएको छ ।

यता काम सम्पन्न गर्न पटक–पटक म्याद थप गर्दा समेत निर्माण कम्पनीले बेवास्ता गरेको जिल्ला मालपोत कार्यालयका प्रमुख दधिराज गुरागाईंको भनाइ छ ।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले गरेको मूल्यांकन अनुसार २०७३ फागुन ५ गते सम्म ७० दशमलव ८१ प्रतिशत मात्रै काम सम्पन्न भएको देखाएको छ । भवनको बाँकी काम सम्पन्न गर्न ठेकेदार कम्पनीले दुई पटक गरी २०७२ फागुन २० गते सम्मको थप म्याद पाएको थियो । यद्यपि, थपिएको समयमा पनि निर्माण काम पुरा हुन सकेको छैन ।

यता भवन निर्माण कार्य समेत पुरा नगरी २०७३ जेठ २७ गते ठेकेदारले फाइनल बिल भर्पाइ पेश गरी भुक्तानी माग गरेको छ । सम्झौतामा कबोल गरेको भन्दा ५ लाख कमको बिल भर्पाइ पेश गरिएको छ । पटक–पटक रकम निकासा भए पनि कति रकम भुक्तानी भएको हो यकिन हुन नसकेको प्रमुख गुरागाईंले जानकारी दिए ।

उक्त भवनको निर्माण कार्य गुणस्तरहीन भएको भन्दै २०७३ मै भूमि सुधार तथा व्यवस्था विभागले अनुगमन गर्दा भवन गुणस्तरहीन र तामेली भण्डारणका लागि उपयुक्त नभएको प्रतिवेदन दिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत