२९ बैशाख ०७५, काठमाडौं । राजकीय भ्रमणमा रहेका  भारतीय समकक्षी नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शुक्रबार मोदी र ओलीबीच होटल द्वारिकाजमा वान टु वान वार्ता भएको हो । भेटवार्ता लगतै  प्रधानमन्त्रीद्वयले नेपाल–भारतबीच भएका सम्झौताको जानकारी दिएपछि संखुवासभाको अरुण तेस्रो जलविद्युत् आयोजनाको  स्विच थिचेर शिल्यान्याश गरेका छन् ।

भारतको सरकारी कम्पनी सतलज जलविद्युत् निगमले यो आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । अरुण तेस्रो निर्माणको जिम्मेवारी पाएको १० वर्षपछि सो आयोजनाको औपचारिक शिलान्याश भएको हो ।

त्यसैगरी, मोदीको नेपाल भ्रमणका क्रममा जलमार्ग, रेलमार्ग, सडकमार्गमार्फत नेपाल भारतलाई सहज रूपमा जोड्ने विषयलाई अगाडि बढाउने सहमति बनेको छ ।

दुई प्रधानमन्त्रीका अनुसार नेपाल र भारतका कृषि मन्त्रीको बैठक छिट्टै बस्नेछ । यो बैठकले कृषि सहयोग अनुसन्धान, शिक्षामा सहयोगको रोडम्याप बनाउनेछ । साथै ब्यापार सम्वन्धलाई अझ बलियो बनाउन ‘टि्रटी अफ ट्रेड’लाई पुनरावलोकन गर्न पनि दुई देश सहमत भएका छन् ।

त्यसैगरी, भारतले क्यान्सरको उपचारमा सहयोग गर्ने सहमति भएको छ । मोदीका अनुसार भारतले भक्तपुर क्यान्सर अस्पतालमा भावा ट्रोमा रेडियो थेरापी मेसिन छिट्टै जडान गर्नेछ ।

भेटमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआर छिट्टै बनाउने सहमति भएको छ । यसका लागि दुई देशको टिम छलफलमा बस्ने प्रधानमन्त्री ओलीले बताए । ओलीसँग मिलेर आफूले ९०० मेगावाट क्षमताको अरुण तेस्रोको शिलान्यास गरेको भन्दै मोदीले उर्जा क्षेत्रमा नयाँ अध्याय जोडिएको बताए ।