प्रधानमन्त्री ओली नेकपाको संसदीय दलको नेता सर्वसम्मत चयन
५ जेठ ०७५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको पहिलो बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेता चयन गरेको छ ।
पार्टी एकतापछि शनिबार बानेश्वरमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो ।
पुनर्गठित पार्टीको पहिलो बैठकमा नेकपाको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ साथै एकीकृत पार्टीका सांसदहरुको उपस्थिति रहेको थियो ।
भारतीय फिल्ड अफिस हट्छ
नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गदै प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताएका छन् ।
भारतसँग बराबरीको सम्बन्ध बनाउने बताउँदै दलको नेता ओलीले भने, ‘विराटनगरको फिल्ड अफिस पनि हट्छ ।’
उनले सन् १९५० को सन्धि फेर्न भारत सहमत भइसकेको समेत बताए ।
कोशी ब्यारेज २०६५ भदौ २ गतेको बाढीले भत्काएपछि नेपालका सवारी साधानहरुले भारतीय भूमि प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएपछि भारतीय दूतावासले नेपाली सवारी साधनलाई पास दिन फिल्ड अफिस खुलेको थियो ।
नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला सो फिल्ड अफिस बन्द गर्न पत्र काटेको भए पनि अझैसम्म अफिस बन्द भएको छैन् ।
विपक्षीलाई कमजोर नदेख्न प्रचण्डको सुझाव
बैठकलाई सम्बोधन गर्ने क्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरुलाई विपक्षीलाई कमजोर नदेख्न सुझाएका छन् ।
पार्टी एकतासँगै विपक्षीहरुले गम्भीरतापूर्वक हेरिरहेकाले साना कमजोरी भए त्यसलाई एक्सपोज गर्ने क्रम बढेर जाने बताउँदै अध्यक्ष प्रचण्डले पराजित भएको सेनाले युद्धबाट शिक्षा लिने बताए ।
सांसदहरुलाई ओभर कन्फिडेन्ट देखिए त्यो प्रत्युपादक हुनसक्ने भन्दै प्रचण्डले भने, ‘अर्को पक्षलाई कमजोर ठानेर रिल्याक्स गर्ने छुट हामीलाई छैन् ।’
- 5Shares
5