सय दिनका उपलब्धिपूर्ण कामले जनतालाई राहत महशुस भएको छ – गृहमन्त्री

२३ जेठ ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले आफूले मन्त्रालयमा कार्यभार सम्हालेको एक सय दिनमा उपलब्धीपुर्ण काम गरेको भन्दै यसबाट जनताले राहत महशुस गरेको बताएका छन् ।

बुधबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले सो कुरा बताएका हुन् ।

गृहमन्त्री थालाले यातायात सम्वद्ध समितिहरुको दर्ता र नवीकरण रोक्ने निर्णय गरी लामो समयदेखि यातायातको क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गर्ने, ३३ किलो सुन काण्डमा छानविन समिति मार्फत तस्करीको जालो तोड्न सफल भएको तथा वैदेशिक रोजगारमा ठगीमा संलग्न ठुलो गिरोह पक्राउ गर्नु सय दिनमाभित्रका महत्वपूर्ण काम रहेको बताए ।

मन्त्री थापाले निर्माणका कार्यमा ढिला सुस्ती गर्ने तथा कमसल काम गर्ने ठेकेदाहरुलाई भौतिक पूर्वाधार मन्त्रालय, शहरी विकास मन्त्रालय लगायतका नियकाहरुसँगको समन्वयमा कारवाही अघि बढाइएको बताउँदै जतिसुकै शक्तिशाली ठेकेदार भएपनि उनीहरुलार्ई कारवाहीको दायरामा ल्याएर छोड्ने बताए ।

त्यस्तै सुन तस्करी प्रकरणमा अब ठुला कारोवारी पनि पक्राउ पर्ने संकेत गर्दै उनले भने ‘सुन तस्करीका भुरा माछा र मझौला माछा पक्राउ परेका छन् । अब ठुला माछा पनि पक्राउ पर्दैछन् ।’

मन्त्री थापाले सरकारले लिएको विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न भ्रष्टचार, तस्करी, अनियमितताको जरैदेखि अन्त्य गर्ने अभियानमा गृहले सक्रिय रुपमा बताउँदै भने –‘सुशासन कायम गर्न विद्यमान तस्करी, अपराधिक घटना र गतिविधि निस्तेज गर्न लक्ष्य सहित ८२ बुँदे गृह प्रशासन सुधार योजना बनाउनुका साथै ३७ बुंदे निर्देशनहरु सबै जिल्ला प्रशासन कार्यालयमा पठाईएको छ । सोही अनुसार कार्यहरु अघि बढिरहेका छन् ।’

त्यस्तै मदिरा नियन्त्रण र लागुऔषध निषेध अभियानलाई पनि मन्त्रालयले अभियनाको रुपमा लैजान लागेको बताए ।

कार्यक्रममा बोल्दै मन्त्री थापाले ट्राफिक व्यवस्थापनको कार्य सातै प्रदेशबाट प्रारम्भ भएकाले सातै प्रदेशमा प्रदेशिक सुरक्षा गोष्ठी सम्पन गरिएको, लामो समयदेखि रोकिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सरुवा , बढुवा नियमित गरिएको, विदा कटौती तथा सरकारी सवारी साधनको दुरुपयोग रोक्ने जस्ता कार्यलाईसय दिनका आफ्नो उपलब्धिको रुपमा लिएको बताए ।

सम्मेलनमा गृहमन्त्री थापाले केहीले कम्युनिष्टको नाममा तथा केहीले जातियता, क्षेत्रीयता र धर्मका नाममा संविधान विरोधी तथा अस्थिरता निम्ताउने गतिविधि गरिरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न गृह मन्त्रालय प्रतिवद्ध रहेको बताए ।

गृहमन्त्रालयले आन्तरिक सुरक्षा ऐन, २०७५, नागरिकता ऐनको संशोधन, परिचय पत्र व्यवस्थापन ऐन, सामाजिक सुधार ऐन लगायतका महत्वपूर्ण ऐनहरु सहमतिका लागि कानून मन्त्रालय पठाईएको तथा संघीय प्रहरी ऐनको मस्यौदा अन्तिम चरणमा रहेकोे जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत