आयोगद्वारा नेकपालाई दर्ता प्रमाण-पत्र प्रदान, चुनाव चिन्ह सूर्य र हँसिया हथौडा अंकित झण्डा रहने

२४ जेठ ०७५, काठमाडौं । निर्वाचन आयोगले नेकपा कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता भएको प्रमाणपत्र पार्टीका महासचिव विष्णु पौडेललाई प्रदान गरेको छ ।

बिहीबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) लेखिएको प्रमाणपत्र पार्टीका महासचिव पौडेललाई प्रदान गरेका हुन् ।

आयोगले तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकीकरण भएपछि बुधबार आयोगले दर्ता किताबको क्रम संख्या १४५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाम, झण्डा र चुनावचिन्ह राखेर अन्य कुनै व्यक्ति वा दलले प्रयोग गर्न नपाउने प्रष्ट पारेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई दल दर्ताको प्रमाणपत्र दिएपछि आयोगका सचिव बेगेन्द्रराज पौडेलले बिहीबार विज्ञप्तिमार्फत राजनीतिक दल सम्बन्धी ऐनको दफा १० बमोजिम एमाले र माओवादीको नाम तथा चिन्ह अरुले प्रयोग गर्न नपाउने जनाएका छन् ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा १० को उपदफा ७ मा दल एकीकरण भएमा एकीकरण हुनु वा गाभिनुअघि त्यस्ता दलले प्रयोग गरेको नाम, झण्डा वा चिन्ह एकीकरण भएको वा गाभिएको मितिले एक वर्षसम्म कसैले प्रयोग गर्न सक्ने छैन भनिएको छ ।

एमाले र माओवादी एकीकरण गरेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता नम्बर १६५ रहेको जानकारी आयोगले दिएको छ । नेकपाको चुनाव चिन्ह सूर्य र हँसिया हथौडा अंकित झण्डा रहने भएको छ ।

दल दर्ताको प्रमाणपत्र बुझ्न नेकपाका महासचिव विष्णु पौडेल, संसदीय दलका नेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङसहितका नेता आयोगमा पुगेका थिए ।

  •  
    4
    Shares
  • 4
  •  
  •  
  •  

तपाइको मत