अनशनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल भर्ना

२१ असार ०७५, जुम्ला । शनिबारदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिष्ठानमा अनशनरत डा. केसी बुधबार दिउँसो बेहोस भएपछि स्थानीय प्रशासनले उनको जीवन रक्षाका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेको हो ।

प्रशासनले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्न प्रतिबन्ध लगाएका कारण उनी जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा अनशन बस्दै आएका थिए । कभर्ड हलमा उपचार गर्न सम्भव नभएको भन्दै चिकित्सकहरूले तीन दिनदेखि डा. केसीको चेकजाँच गर्न छाडेका थिए ।

डा. केसीका भाइ किशोर केसीका अनुसार स्वास्थ्य अवस्था नाजुक बनेको र बेहोस भएपछि आकस्मिक कक्षमा भर्ना गर्नुपरेको बताए । डा. केसीको अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरूपमा जारी गर्न माग गर्दै डा. केसी शनिबारदेखि आमरण अनशनमा छन् ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत